काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा समावेश विभिन्न ६ खेलको अनुगमन गर्ने जिम्मेवारी राखेप बोर्ड सदस्यलाई प्रदान गरिएको छ ।
भलिबलमा नन्दा बस्याल, एथलेटिक्समा विना श्रेष्ठ, कबड्डीमा पेमा डोल्मा लामा, करातेमा अन्जना श्रेष्ठ, तेक्वान्दोमा अन्जन धमला र उसुमा प्रकाशकुमार कुसारीलाई कार्य विवरणसहित अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति रनिङ सिल्ड मंगलबार सुरु हुँदै
प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा मार्च पास्ट, अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुती, डान्स स्पोर्ट्स संघको प्रस्तुती, नाइटिङ स्कुलका विद्यार्थीहरुको सातै प्रदेशको संस्कृति झल्कने नृत्य प्रस्तुती रहने छ । त्यस्तै तृष्णा गुरुङ एन्ड डि कोल्याबको टोलीले गीत प्रस्तुत गर्ने छन् ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा हुने प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीको सहभागिता रहने छ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।
जम्मा ५६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्सको छात्र÷छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र÷छात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको कुल नगद पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । समग्रमा शीर्ष तीन स्थान हात पार्ने टिमलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । जुनियर राष्ट्रिय कीर्तिमानका लागि १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।