खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



डेंगी संक्रमण तीव्ररूपमा बढ्यो


 संवाददाता   August 17, 2023   1104 जनाले पढ़िसके




संक्रमण बढाउन मौसमको ठूलो भूमिका

बिहीबार, साउन ३२, २०८०

पथरीशनिश्चरे । पछिल्ला दुई महिना नेपालमा डेंगी संक्रमण तीव्ररूपमा फैलिइरहेको छ ।
संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै जानुले योवर्ष पनि डेंगीले उच्च रूप लिने निश्चित भइसकेको छ । यो अवस्थामा जनमानसमा डेंगी संक्रमणले महामारीको रूप लिएको हो भन्ने त्रास पैदा गरेको छ ।
७५ जिल्ला प्रभावित, डेढ महिनामा साढे १२ हजार संक्रमित
सन् २०२२ यता नेपालमा डेंगी संक्रमण शून्यमा झरेको छैन । हिउँदका पाँच महिना फाट्टफुट्ट देखिएको संक्रमण जुनयता निरन्तर उकालो लागिरेहको छ ।

जुलाई १ देखि अगष्ट १६ सम्म डेढ महिनामा मात्रै १२ हजार ५८३ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।
अगष्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै योवर्ष डेंगी संक्रमितको संख्या १४ हजार ३५७ पुगेको छ । जुनयता मात्रै डेंगीका कारण १२ जनाको मृत्यु भएको छ ।
७५ जिल्लामा फैलिएको डेंगीबाट सबेभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कोसीमा १० हजार ८१३ र वाग्मतीमा दुई हजार ९ जना संक्रमित भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ४२० जना संक्रममित भएका छन् । १२ जिल्लामा संक्रमितको संख्या डेढसयभन्दा माथि छ ।
यो वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप (डेंगी १, २, ३, ४) देखिएको इडीसीडीका निर्देशक डा. रुद्र मरासिनी बताउँछन् । विश्वभर देखिएकामध्ये अधिकांश देशमा डेंगीका चारवटा सेरोटाइप (भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण) देखिएका छन् ।
महामारी फैलिएको हो ?
समुदायस्तरमा संक्रमण फैलिएको र धेरै जिल्लामा देखिएको अवस्था हेर्दा डेंगीले महामारीको रूप लिएको धेरैको आँकलन छ । तर इडीसीडीले भने हाल नेपालमा डेंगी महामारीको अवस्था नआएको जनाएको छ ।
इडीसीडीका निर्देशक डा. मरासिनी संक्रमितको संख्या बढ्दैमा त्यसलाई महामारी भन्न नमिल्ने बताउँछन् । “बढीभन्दा बढी मानिस सिकिस्त भएको र मृत्युदर उच्च भएको अवस्थालाई महामारी भन्न सकिन्छ तर अहिले संक्रमण नियन्त्रणमा नै छ, त्यसैले महामारीको रूप लिएको छैन,” उनी भन्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कुनैपनि संक्रमण उच्च दरमा फैलिए, दुई वा सोभन्दा बढी देशमा फैलिए, नियन्त्रण बाहिर गए महामारी भन्न सकिने जनाएको छ । त्यस्तै अघिल्लो दिनको तुलनामा केस बढ्दै गए, संक्रमणले धेरैभन्दा धेरै मानिस सिकिस्त भए र संक्रमण घातक भएको अवस्थामा महामारी घोषणा गर्नसक्ने जनाएको छ ।
तर, डेंगी संक्रमण अहिलेकै दरमा बढ्दै गए संक्रमणले महामारीको रूप लिँदैन भन्नेमा ढुक्क हुने अवस्था नरहेको विज्ञहरू बताउँछन् ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ एवम् स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखा प्रमुख डा. अनुप बास्तोला डेंगी नियन्त्रणका लागि स्थानीय सरकार र समुदायस्तरको सक्रियता नपुगेको बताउँछन् ।
“नीति र कार्ययोजनामा जतिसुकै राम्रा कार्यक्रम राखिए पनि त्यसको कार्यान्वयनको पाटो फितलो भएको देखिन्छ । चाहे स्थानीय तह हुन् या आम नागरिक डेंगी नियन्त्रणमा बनाइएका कार्यक्रम र नियमहरूको पालना कसैले गरेको पाइँदैन,” उनी भन्छन् ।
संक्रमण बढाउन मौसमको ठूलो भूमिका
नेपालमा योवर्ष डेंगी संक्रमण असोजमा उच्च बिन्दुमा पुग्ने इडीसीडीले आँकलन गरेको छ । तर, संक्रमण कसरी बढ्छ भन्ने कुरा मौसम र जनस्तरको प्रतिकार्यमा निर्भर रहने इडीसीडीका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।
केही दिन पानी पर्ने केही दिन घाम लाग्ने मौसम लामखुट्टेको वृद्धिका लागि उपयुक्त मौसम हुने उनको भनाइ छ ।
“कहिलेसम्म कसरी वर्षा हुन्छ भन्ने कुराले लामखुट्टे बढाउन भूमिका खेल्छ भने लामखुट्टेलाई जीवित रहन नदिन जनस्तरबाट कस्तो प्रतिकार्य हुन्छ, हाम्रो दैनिकी कस्तो हुन्छ भन्ने कुराले कति संक्रमित हुने भन्ने निर्धारण गर्छ,” डा. दाहाल भन्छन् ।
डेंगी एडिस एजिप्टी जातको लामखुट्टेको सात दिनमा भाइरस सार्नसक्ने हुने र बढीमा एक महिनासम्म बाँच्ने उनको भनाइ छ ।
अहिलेकै संख्यामा संक्रमित बढ्दै गए गत वर्षभन्दा बढी हुनसक्ने देखिएको छ । सन् २०२२ मा नेपालमा हालसम्मकै सबैभन्दा बढी डेंगी संक्रमण फैलिएको थियो ।
इडीसीडीको तथ्यांकअनुसार सो एक वर्षमा ५४ हजार ७८४ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । यो संख्या नेपालमा डेंगी सुरु भएयता (सन् २००४) कै सबैभन्दा बढी हो । सो वर्ष डेंगी संक्रमणबाट ८८ जनाको मृत्यु भएको थियो ।