खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



मेरो डिग्रीको सर्टिफिकेट विक्रीमा छ (कविता)


 संवाददाता   August 15, 2022   1419 जनाले पढ़िसके




 

कोही छ ? कोही छ ?
किन्ने
मेरो डिग्रीको सर्टिफिकेट विक्रीमा छ
अब त जवान भईसकेछु
विदेश हिन्नु छ
सर्टिफिकेट बेचेर पासपोर्ट किन्नु छ ।

 

भन्नुहोला, यति मेहेनतले पाएको सर्टिफिकेट राख्न मन थिएन ?
तर,
मैले गणितका प्रश्नहरू हल गरेर ल्याएको, ९० नम्बरले मेरो जीवनको ऋणहरुको हल दिएन,
किनकी मसँग धन थिएन ।
मैले रसायशास्त्रका औषधिको नाम जानेर ल्याएको, ९० नम्बरले
मेरी आमा बिरामी हुँदा औषधि दिएन,
किनकी मसँग धन थिएन ।
मैले सामाजिक विषयको अध्ययन गरेर ल्याएको ९० नम्बरले, मलाई त्यही समाजमा मान दिएन,
किनकी मसँग धन थिएन ।
हो त्यही भएर भन्दै छु,
मेरो सर्टिफिकेट विक्रीमा छ ।

भन्नु होला देशमै गरे किन्न हुन्न ?
मैले नि त्यही चाहेको हुँ,
तर,
दक्षतासँगै सर्टिफिकेट लिएर जागिर खोज्न कार्यालय जाँदा,
हाकिमले भेट्ने समय नै दिएन,
किनकी,
उसलाई पहिल्यै नै थाहा थियो, बेन्चमुनिबाट दिन मसँग पैसा थिएन, त्यही भएर त जागिर दिएन ।
दक्षता थियो, जागिर थिएन,
गुनासाे छैन, आमा जागिर दिएन,
कसरी पाउँथे त ,
म कोही ठूलो नेताको मामाको काकाको छोरा थिइन,
त्यही भएर त जागिर दिएन ।
ठूलो लगानी थिएन,
देशमै केही गर्न तरकारी बेच्न, मकै पोल्न लाए,
ठेला लग्यो, ठेला दिएन,
दिउँसो कमाएर राति लैजाउला भनेको,
कस्ले बुझ्ने,
राती घरमा बिरामी आमाले खाने औषधि थिएन
भान्सामा पकाउन चामलको गेडो थिएन,
छोरीको लेख्ने कापी थिएन,
भित्ताको सर्टिफिकेट र योग्यताले मात्र, जागिर दिएन,
कोहि बुझ पचाएर नभनुन् , यिनीहरूलाई देश बस्ने मनै थिएन ।

 

अन्त्यमा,
आमालाई औषधि, छोरीलाइ कापि, परिवारलाई अन्न किन्नलाई,
तयार भएँ,
सर्टिफिकेट बेचेर,
पसिना बेच्न विदेश हिड्नलाई
भन्नुहोला के विदेशमा नि पैसाको रूख छ ? सुख छ ?
थाहा छ, विकल्प र उत्तरः दिनुहोस्
के सबैलाई देशमै जागिर पुग्छ ?

 

हे सरकार, कि हो यहाँ काम गर भन,
कि यो धनीबस्ने देश हो, गरीब सबै भोकै मर भन,
सयकडा पाँचको दरले मुखियासँग ऋण लिएर,
पासपोर्ट लिएको दिन,
अब त,
मेरो पनि दिन फेरिए छन् कि, भन्ने आश आयो,
भोलि बिहानै विदेश हिँड्नु थियो,
कसरी जाऊ म ,
म विदेश जानु अघिल्लो दिन
यस्तै सपना बोकेर गएको,
मेरो धने साथीको लास आयो ।

 

हरियो राहदानीले उ, त्यै एयरपोर्टबाट उडेको थियो,
छोरो मान्छे मपनि धेरै रोई, जब आज
त्यै राजधानीको एयरपोर्टमा,
भित्र उ भएको रातो बाकस गुडेको थ्यो ।

 

उ विदेसिनु, अघिल्लो रात सम्झेँ,
रुँदै मलाई भनेको थ्यो,
मध्यराती,
म मरे भनेपनि, आमालाई सम्झाएस्
तैछस् ख्याल गर है साथी
उ नी यस्तै भन्थ्यो,
“आमालाई चोलो, घरलाई छानो किन्नु छ,”
आमा सम्झेँ म नी धेरै डराएँ,
किनकी म नी भोलि बिहानै हिँड्नु छ
……
धत्!! जान्न भो, विदेश,
दुख सुुख देशमै कै गर्छु,
मर्नै परे आफ्नै देश र आमाकै काखमै मर्छु ।
भनेर ,
सर्टिफिकेट बोकेर,
राजधानी आएको म,
आज फेरि दोधारमा आएँ,
यही प्रश्नले मन घोचिरहन्छ,
आखिर जीवनभर पढेर मैल के पाएँ ?
जब, बाले,
झुपडी, पसिना, जवानी बेचेर
मलाई सर्टिफिकेट किनी दिनुभयो
तर,
सर्टिफिकेटले बुवालाई उपचार किनी दिएन
मैले नि केही सकिन गर्न, मसँग धन थिएन,
किनकी, सर्टिफिकेट र योग्यताले मात्रै
देशमा जागिर दिएन,
त्यै भएर भन्दै छु,
मेरो डिग्रीको सर्टिफिकेट बिक्रीमा छ,
अब त जवान भइसकेछु,
विदेश हिँड्नु छ,
सर्टिफिकेट बेचेर पासपोर्ट किन्नु छ ।

 

मलाई कसले दिन्छ यो जवाफ
पढाइ थियो, जागिर थिएन,
बा मरे,
के मैले पढेर साँच्चै गल्ती गरें ?
एउटा भाईले सोध्यो,
दाइ म डिग्रीको परीक्षा दिउँ,
या पासपोर्ट लिउँ,
नमिठो भोगाइ थियो, निशब्द भएँ
आफू सम्झेँ, साथी सम्झेँ
न ‘जा’ भन्न सके,
न ‘नजा’ भन्न सके,
उत्तर दिन सकिन, के पारौं निउ ?
हे सरकार, र सम्बन्धित निकाय भनिदेऊ,
म त्यो भाइलाई के जवाफ दिउँ ?

कपिल अर्याल
न्यू स्ट्यान्डर्ड स्कूल, नयाँगाउँ
ग्लोरियस कलेज, बुटवल
न्यू होराइजन कलेज, बुटवल
रसायनशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको १२ औं गिनिज वर्ल्ड रेकर्डको प्रयास सफल