२० श्रावण २०८१, आइतबार
काठमाडौँ । स्वयम्भूमा सोमबारदेखि एक महिनासम्म जारी रहने मेला लाग्ने भएको छ । मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ ।
महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
सम्पदास्थलका चैत्य तथा विभिन्न भागमा मर्मत तथा जीर्णोद्धारको कार्य सम्पन्न भइसकेकाले मेलामा आउनेको संख्या बढ्ने अपेक्षा गरिएको छ ।
मन्दिर नजिकका अस्थायी पसल हटाइएको र सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको महासमितिका महासचिव अशोक बुद्धाचार्यले जानकारी दिनुभयो । मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध भएको जानकारी दिनुभयो भने स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक जामलाई व्यवस्थापन गर्ने जनाएको छ ।
गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेलाअवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रमा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा रहेको छ ।