खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



दैनिक उद्योगहरुमा लोडसेडिङ्ग हुन्छ समाधान गरियोस् : अध्यक्ष अग्रवाल


 संवाददाता   April 16, 2024   195 जनाले पढ़िसके




४ बैशाख २०८१, मंगलबार
काठमाडौै । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुमा दैनिक १६ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष अग्रवालले पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङ्गले उद्योगीहरु थप मर्माहत भएको बताउनुभयो । उहाँले एकातिर विद्युत खपत बढाउन नेपाल विद्युत प्राधिकरण लागिरहेको र अर्कोतर्फ धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा १६ घण्टासम्म लोडसेडिङ्ग गराउने काम भइरहेको बताउनुभयो । उहाँले सरकारको यो कस्तो नीति हो ? भन्दै प्रश्न गर्नुभयो ।

अध्यक्ष अग्रवालले विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महंगो पर्ने भनिरहेको भन्दै केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भएपनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने बताउनुभयो । उहाँले महंगो दरमा आयात गरेर भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन माग गर्नुभयो । उहाँले समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको बताउनुभयो ।

अध्यक्ष अग्रवालले मुलुकमा उद्योग व्यवसयालाई प्रोत्साहन नदिँदा देशभित्र रोजगारका अवसर सिर्जना हुन नसकेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा चौतर्फी चुनौति र समस्या रहेको बताउनुभयो । चुनौति र समस्या समाधानका लागि ठूलो शल्यक्रियाको खाँचो भएपनि मल्हमपट्टी गरेर शिथिल अर्थतन्त्र उकास्ने सोच्ने काम भइरहेको बताउनुभयो ।