खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



आयरल्यान्ड ‘ए’ माथी नेपालको ६ विकेटले जित


 संवाददाता   March 25, 2024   82 जनाले पढ़िसके




काठमाडौँ । आज भएको पहिलो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६।१ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो । नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण योगदान गरे । सन्दीप जोराले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रसिंह ऐरीले अविजित २० रन बनाए ।

 

 

नेपाली टोलीका बलर कुशल भुर्तेल, गुलसन झा र ललित राजवंशीले दुई–दुई विकेट लिएका थिए । कुशल मल्ल र करण केसीले पनि एक–एक विकेट हात पारे । आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रुपमा केवल पाँच रन पाएको थियो ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान असिफ शेख पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले ११ बलमा एक छक्का र दुई चौकाको मद्दतले १६ रन बनाएका थिए । उनलाई आयरल्यान्ड ‘ए’ का बलर गारेथ डेलानीले एलबीडब्लूको धरापमा पारेका थिए । ३।२ ओभरमा आसिफ आउट हुँदा नेपालले ३२ रन बनाएको थियो ।

 

 

 

 

 

नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो खेल मंगलबार खेलिने छ । आयरल्यान्ड ‘ए’ सँग दुईवटा टी–२० खेलेर नेपाली राष्ट्रिय टोली भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक शृंखला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ ।

भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । त्यसपछि नेपालको ‘ए’ टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग टी–२० र एकदिवसीय प्रतियोगिता खेल्नेछ ।