खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



खेलकुदका निकायहरुको भुमिकाबारे समीक्षा हुन आवश्यक छ : मन्त्री लिम्बु


 संवाददाता   December 30, 2023   144 जनाले पढ़िसके




१४ पुस २०८०, शनिबार
काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले नेपाली खेलकुदका सरोकारवाला निकायको भुमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शंखमुलमा शनिबार आयोजित नेपाल ओलम्पिक कमिटी (एनओसी) को १५ औं साधारणसभाको अवसरमा मन्त्री लिम्बुले खेलाडीको अपेक्षाअनुरूप खेलकुदका निकाय एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को काम कारबाही र भुमिका विषयलाई लिएर समीक्षा गर्न आवश्यक रहेको औंल्याउनुभएको हो । खेलाडीका भावनाअनुरूपमा गर्नसक्यौं वा सकेनौं भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको मन्त्री लिम्बुको धारणा थियो ।

मन्त्रीले लिम्बुले खेलकुदका जिम्मेवारी निकाय एउटै लक्ष्यमा एक भएर काम काम गर्ने हो भने नेपाली खेलकुद विकासको नतिजा आगामी पाँच वर्षभित्र देखिने बताउनुभयो । त्यसैले सराकोरवाला निकाय मिल्नुको विकल्प नभएको आवश्यकता औंल्याएउनुभयो । खेलकुद क्षेत्रको विकासका लागि सबै निकायको साझा धारणा आउनुपर्ने पनि मन्त्री लिम्बुले बताउनुभयो ।

मन्त्री लिम्बुले सरकार एक्लैले मात्र खेलकुद क्षेत्रको विकास गर्न सम्भव नभएको पनि जिकिर गर्नुभयो । उहाँले निजी क्षेत्र, सरोकारवाला र राज्य एक भएर काम गर्ने हो भने खेलकुद क्षेत्रले धेरै फड्को मार्ने बताउनुभयो । मन्त्री लिम्बुले लगानी गर्ने व्यक्ति र संस्थालाई पनि प्रोत्साहन गर्न उत्तिकै आवश्यकता रहेको बताउनुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा ओलम्पिकको इतिहास लामो भएपनि अनुभव त्यति लामो हुन नसकेको स्वीकार गर्नुभयो । यसबीच एनओसीले उतारचढाव सामना गर्नुपरेकाले पनि त्यति धेरै गतिविधिहरू नभएको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठको भनाई छ ।

ओलम्पिकमा सहभागिता मात्र होइन पदकको सम्भावना पनि ल्याउने वातावण बनाउन आफूहरू प्रतिवद्ध रहेको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले बताउनुभयो । राज्य, खेलकुद संघ, मन्त्रालय र ओलम्पिक कमिटी एक भएर काम गर्दा मात्र नेपाली खेलकुदलाई परिणाममुखी बनाउन सक्ने अध्यक्ष श्रेष्ठको विश्वास छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको संस्थागत विकासको इतिहास लामो रहेको उल्लेख गर्दै उद्देश्यअनुरूप विकास हुन नसक्दा एकपटक सबैले समीक्षा गर्न आवश्यक रहेको औंल्याउनुभयो । घिसिङले पनि सामूहिक प्रयास गर्न एकै पटक पाइला बढाउन आग्रह गर्नुभयो ।

काम गर्ने तरिका बारे प्रशिक्षकसँगै हरेक खेलकर्मीले पनि आफूलाई समीक्षा गर्न उहाँको आग्रह छ । तब मात्र उपलब्धि सम्भव रहेको राखेप सदस्यसचिव घिसिङले बताउनु भयो । सो कार्यक्रममा ओलम्पियन दीपक बिष्ट र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले पनि खेलकुद विकासका लागि सबै एक भएर लाग्नुपर्ने औंल्याउनु भयो । त्यसअघि सो साधारण सभाको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।