खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



देशको अर्थतन्त्र सवलीकरणको लागी अबको बाटो


 संवाददाता   December 14, 2023   100 जनाले पढ़िसके




 

  • गगन सिंह बस्नेत

देशको अर्थतन्त्रका आधार स्तम्भ बलियो नहुदा कोरोना जस्ता भाइरस, भुकम्प, अन्तर्राष्ट्रिय युद्ध र नाकाबन्दीको प्रभावले हाम्रो जस्तो देशको अर्थतन्त्र जग छिटै धर्मराउछ । अहिलेको मुख्य चुनौती हो, शिथिलता हटाई अर्थतन्त्रलाई चलायमान बनाउनु । उद्योगी व्यापारीहरूको मनोबल बढाएर औद्योगिक क्रियाकलापमा कसरी सक्रिय बनाउन सकिन्छ, त्यस दिशातर्फ उन्मुख हुनुपर्ने देखिन्छ । उद्योगी–व्यवसायी र बैंकिङ क्षेत्र एकअर्काका परिपूरक हुन् । एउटालाई अप्ठ्यारो पर्दा अर्को कुनै पनि हालतमा अगाडि बढ्न सक्दैन । अहिलेको विषम परिवेशबाट माथि उठ्न र अर्थतन्त्रलाई सही दिशामा डोर्‍याउन दुवै क्षेत्रले विश्वासको वातावरण बनाउनुपर्छ ।

 

 

आगामी दिनहरूमा ग्रिन फाइनान्सिङ, सस्टेनेबल फाइनान्सिङ, ब्लेन्डेड फाइनान्सिङलाई उच्च प्राथमिकता दिँदै यसका माध्यमले देशको ऊर्जा, कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सकिने ठूलो सम्भावना छ । जलवायु परिवर्तनको मुद्दा र सस्टेनेबल फाइनान्सिङको मान्यताको विकास भइरहेको परिप्रेक्ष्यमा जलवायु परिवर्तनको हिसाबले उच्च जोखिममा रहेको हाम्रो देशको त्यस्तो खतरा न्यूनीकरण गर्दै आर्थिक विकास अगाडि बढाउनुपर्ने सन्दर्भमा यस्ता विविध स्रोतलाई प्राथमिकतामा राख्न सके मात्र हामी वैदेशिक लगानी भित्र्याउन सफल हुन सक्छौं ।

 

नेपालको विद्युत् उत्पादन तथा यसको बजारको सम्भावना धेरै ठूलो छ । हाम्रो विद्युत् उत्पादनले भारतको मात्र मागलाई पूरा गर्न सके पनि यसबाट राष्ट्रलाई ठूलो आय आर्जन हुनेमा दुईमत छैन । त्यसैले यस क्षेत्रको विकासमा निजी क्षेत्रको उपस्थितिलाई बढाउँदै तत्कालै पीपीए (पावर पर्चेज एग्रिमेन्ट) खुला गरिए निजी क्षेत्रका लगानीकर्ताहरू उत्साहित हुने देखिन्छ ।

 

लामो समयदेखि नेपाली अर्थतन्त्रले भोग्दै आएको प्रमुख समस्या सरकारले समयमा पुँजीगत खर्च गर्न नसक्नु पनि हो । कुल पुँजीगत खर्चको ठूलो परिमाण आर्थिक वर्षका अन्तिम २ महिनामा हुने गरेको छ । यसले अर्थतन्त्रमा प्रत्यक्ष–अप्रत्यक्ष दुवै रूपमा लगानीयोग्य पुँजीको उपलब्धतालाई असर गर्दै आएको छ । त्यसैले अर्थतन्त्रलाई चलायमान बनाइराख्न पुँजीगत खर्च समयमा हुन एकदमै जरुरी देखिन्छ । वर्तमान अवस्थामा नेपालको वैदेशिक ऋणको अवस्था कुल गार्हस्थ्य उत्पादनको २१ प्रतिशत मात्र छ । त्यसैले देशको अर्थतन्त्रलाई चलायमान बनाउन वैदेशिक ऋण बढाउनेतर्फ समेत सरकार चनाखो हुनुपर्छ । पुँजी बजारको विकासका लागि पनि विशेष पहल गर्न जरुरी छ । सरकार अलि लचिलो भई कर र अन्य संरचनात्मक सुधारमा ध्यान दिई भेन्चर क्यापिटल/प्राइभेट इक्विटीलाई प्रोत्साहन गर्नुपर्छ ।

 

सानासाना बचत संकलन तथा ऋण परिचालन गरी ग्रामीण तथा सहरी क्षेत्रका जनतालाई सेवा प्रदान गर्दै आएका सहकारी तथा लघुवित्त कम्पनीहरूको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकार अग्रसर भएमा यसले देशको तल्लो तप्कामा आर्थिक क्रियाकलापका साथै जनमानसमा मनोबल बढाउनसमेत मद्दत गर्छ ।

 

वस्तु तथा सेवाको निर्यातलाई बढाउन नसकिरहेको वर्तमान समयमा सरकारले प्राथमिकतामा राख्नुपर्ने अर्को महत्त्वपूर्ण क्षेत्र सूचना तथा प्रविधि पनि हो । हाम्रो देशमा उत्पादित सफ्टवेयर र सूचना प्रविधि सेवाहरूलाई अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतमा निर्यात गरेर वार्षिक रूपमा ७० अर्ब रुपैयाँसम्म आम्दानी भएको उदाहरण हामीसामु छ । यो क्षेत्रमा हामीसँग दक्ष जनशक्ति, न्यून लागत, भौगोलिक लाभका कारण थप प्रोत्साहित गर्न सरकारले नीतिगत रूपमा आईटी हब बनाएर वा अरू कुनै तरिकाले कसरी सहयोग गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ ।

 

विगतमा पनि हाम्रो अर्थव्यवस्थामा अप्रत्याशित रूपमा देखा परेका ठूलठूला चुनौतीबाट माथि उठेको हाम्रो अर्थव्यवस्था धेरै ‘रेजिलियन्ट’ छ र संकटको सामना गर्न सक्छौं भन्ने पुष्टि भइसकेको छ । त्यसैले अहिले पनि हाम्रो अर्थव्यवस्थामा देखिएका यावत् समस्यालाई समाधान गरी माथि उठ्न सरकार, निजी क्षेत्र र सबै सरोकारवाला एकै ठाउँमा उभिएर अगाडि बढ्न जरुरी छ । पछिल्लो वर्षका तुलनामा हामी सुधारको बाटामा लागिसकेको र विश्व बैंक, आईएमएफ, लगायत विभिन्न निकायको प्रक्षेपणमा समेत सन् २०२४ आर्थिक दृष्टिकोणले अझ सुखद रहने भएकाले हामीले आशा/अपेक्षा गर्ने धेरै बाटा देखिएका छन् ।

 

(लेखक बस्नेत अर्थशास्त्रका विद्यार्थी ,कृषि व्यवसायी एवम् पर्यटन क्षेत्रमा आवद्ध छन् )