९ फाल्गुन २०७९, मंगलवार
काठमाडाैं । संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित दोलखाको चरणावती तीर्थकाे बारेमा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली समाज विकृत रुपमा अघि बढीरहेकाले समाजलाई सच्याएर अघि बढाउनुपर्ने अवस्था रहेको बताउनुभयो । नेपालीहरुले पुरानो संस्कृति र संस्कार बिर्सिसकेकाले यसलाई पुनः उजागर र प्रवर्द्धनको आवश्यक्ता रहेको संस्कृतिविद् गुरुङले बताउनुभयो ।
संस्कृतिविद् गुरुङले नेपाली समाजलाई विदेशीहरुले हेर्न आउने लायक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको राजनीतिक वर्गले नेपाली मानिसहरुको दिमागको सही सदुपयोग गर्न नसकेको बताउनुभयो । नेपाली समाजमा छाडा संस्कृति हावी भइरहेको संस्कृतिविद् गुरुङले बताउनुभयो ।
संस्कृतिविद् गुरुङले सम्पूर्ण शास्त्रहरु गौरीशंकर हिमालबाट उत्पत्ति भएकाले गौरीशंकर हिमालको उजागर गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कालिन्चोकलाई शक्ति केन्द्रको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।
कालिन्चोक, चरणावती तीर्थ, दोलखा भीमसेन, गौरीशंकर हिमाल, च्छो रोल्वा हिमालको प्रचारप्रसार गर्न सके मानवसरोवर, कैलाश जाने तीर्थयात्री गौरीशंकर र च्छोरोल्वामा आउने संस्कृतिविद् गुरुङले बताउनुभयो ।