खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



४३ जना स्रष्टा पुरस्कृत


 संवाददाता   July 10, 2022   504 जनाले पढ़िसके




 

२६ असार २०७९, आईतवार । काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृतश्रष्टाहरुलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, सङ्गीत एवं नाट्य विधा देशको सभ्यता र संस्कृतिको धरोहर रहेको बताउँदै स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताए । उनले सम्मानबाट स्रष्टाहरूमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । भाषा, साहित्य, संस्कृतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमार्फत स्वदेश तथा विदेशमा नेपालको पहिचान विस्तारमा योगदान दिने मूर्धन्य स्रष्टाहरूको मन्त्रालयले सम्मान गरेको श्रेष्ठले बताए । मुलुकको प्रतिष्ठा उच्च बनाउन स्रष्टाबाट थप योगदान हुने विश्वास समेत उनको भनाइ छ ।

समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित् मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो । राष्ट्रिय प्रतिभा पुरस्कार अन्तर्गत साहित्य, सङ्गीत नाट्य, संस्कृति र ललितकला विधामा पुरस्कार प्रदान गरिएको थियो ।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरूमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुङ्गेल, हेम पौडेल छन् । प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरूमा यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशी लगायत छन् । महाकवि देवकोटा पुरस्कारबाट बेन्जु शर्मा, राम विनय, पुष्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौतलाई सम्मानित गरिएको थियो ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट अमरराज गिरीलाई सम्मानित गरिएको थियो भने इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारबाट त्रिरत्न मानन्धर र भगत सर्वजित् मानव मर्यादा पुरस्कारबाट लालबहादुर विश्वकर्मा र खगेन्द्र सङ्ग्रौलालाई सम्मान गरिएको थियो । पुरस्कार छनोटका लागि मन्त्रालयको कार्यविधिअनुसार छनोट मूल समिति गठन गरिएको थियो ।