चितवन
बैशाख १४ २०७७
चितवनका कोरोना संक्रमित एक युवक आज शनिबार डिस्चार्ज भएका छन् । लगातार तेस्रो पटक गरिएको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएपछि आज अपरान्ह डिस्चार्ज गरिएको हो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले ती युवालाई डिस्चार्ज कागज हस्तान्तरण गरेर बिदा गरे। शुक्रबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पुनः परीक्षणमा राप्ती नगरपालिका–८ का २७ वर्षीय युवकको रिपोर्ट नेगेटिभ आएको थियो । ती युवकको वैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
उनी बेलायतबाट चैत ३ गते नेपाल आएर चैत ५ गते चितवन आएका थिए । उनीसंगै संक्रमण देखिएका उनको आमाको दोस्रो परीक्षण पनि पोजिटिभ आएको थियो । यस्तै आज डिस्चार्ज भए पनि ती युवा अस्पतालमै बसेका छन् । उनकी आमाको अझै पनि नतिजा पोजिटिभ आएकोले आमा निको भएपछि मात्रै घर फर्किने भन्दै अस्पतालमै बसेका छन् ।योसँगै नेपालमा कोरोना संक्रमणको उपचारपछि घर फिर्नेको संख्या १२ पुगेको छ। त्यस्तै वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएका छन्।
उपचारपछि निको भएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।’उहाँहरुको पछिल्लो दुई पटकको प्रयोगशाला परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ,’ उनले भने, ‘उपचारपछि उहाँहरु निको भएका कारण भोली आइतबार डिस्चार्ज गर्ने तयारी गरेका छौं।’ उनीहरु सबै भारतीय नागरिक भएका कारण पर्साका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर डिस्चार्ज गर्ने तयारी भएको डा उपाध्यायले जानकारी दिए। कोरोना पोजेटिभ देखिएका चार जनामध्ये तीन जना वीरगञ्जबाटै र एक जना रौतहटबाट उपचारका लागि अस्पताल लगिएको थियो।
चार जना डिस्चार्ज भएपछि अस्पतालमा कोरोनाका एक जना मात्र बिरामी बाँकी रहने छन्। जनकपुरबाट ल्याइएका सर्लाहीका १४ वर्षिय पुरुषलाई दुई दिन अघि मात्र वीरगञ्ज अस्पतालमा ल्याइएको हो। उनको अवस्था सामान्य रहेको डा उपाध्यायले जानकारी दिए ।वीरगञ्जका ४ जना सहित नेपालमा करोना संक्रमण देखिएका मध्ये उपचारपछि निको हुनेको संख्या १६ पुगेको छ। स्रोत सिधाकुरा बाट