खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



अब र्‍यापिड,पीसीआर दुबै किट बाट कोरो’ना परीक्षण गरिने, डा. वासुदेब पाण्डे !


 संवाददाता   April 6, 2020   426 जनाले पढ़िसके




चैत्र २४, २०७६

काठमाडौँ — सरकारले क्वारेन्टाइनमा राखिएकाहरूलाई परीक्षण गरेर कोरोना भाइरस (कोभिड–१९) संक्रमण नरहेको सुनिश्चित भएपछि मात्र सामान्य जीवनमा फर्काउने नीति लिएको छ । यसअन्तर्गत हाल क्वारेन्टाइनमा रहेकाको संक्रमणको स्थिति र्‍यापिड परीक्षण किट (आरडीटी) बाट पोजेटिभ देखिए पुन: पोलिमर चेन रियाक्सन (पीसीआर) प्रविधिबाट परीक्षण गरी संक्रमण यकिन गर्ने भएको छ ।

हाल कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका तथा बागलुङका संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको द्रुत परीक्षण किटबाट कोभिड–१९ परीक्षण गरिने भएको हो । उनीहरूमा कोरोना पोजेटिभ देखिए पुन: पीसीआर प्रविधिबाट परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । उक्त क्षेत्रमा कोभिड–१९ परीक्षणका लागि आइतबारै टोली हिँड्ने जानकारी उनले दिए ।

चीनबाट आयात गरिएको किट डब्लूएचओको मापदण्डमा नपरेकाले हाल त्यत्तिकै थन्किएको छ । प्रवक्ता देवकोटाका अनुसार पीसीआर १० हजार जनालाई पुग्ने छ भने द्रुत परीक्षण किट ७५ हजार वटा छन् । द्रुत परीक्षण किटबाट कोभिड–१९ परीक्षण गर्ने मन्त्रिपरिषद्को निर्णयपछि आइतबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा यसबारे बैठक भएको थियो । बैठकमा विज्ञहरूले उक्त परीक्षण किट ‘एन्टिबडी’ आधारित भएको र रोगको लक्षण देखिएको १० दिनपछि मात्र पत्ता लगाउन सक्ने भएकाले पीसीआरको उपयोगसँग भ्यालिडेसन (मान्यता) दिन सल्लाह दिएका थिए । ‘अब द्रुत परीक्षण र पीसीआर दुवै गरिनेछ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलजिस्ट डा.वासुदेव पाण्डे भन्छन्, ‘परीक्षण किट र पीसीआरको संवेदनशीलता मिल्यो भने सामूहिक स्तरमा पनि प्रयोग गर्न सकिन्छ ।’

हाल क्वारेन्टाइनमा राखिएकालाई १४ दिनपछि परीक्षण गर्दा कोभिड–१९ नदेखिएपछि घर फर्काइने उनले बताए । ‘कुनै कुनै देशमा २१ दिनपछि समेत कोरोना पोजेटिभ देखिएको छ, यसैले परीक्षण परिणाम नेगेटिभ आए पनि केही दिन (एक साता) घरमै सुरक्षा उपायसाथ बस्नु राम्रो हुन्छ,’ उनले भने ।

स्रोत इकान्तिपुर !