खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



प्रधानमन्त्री केपी शर्मा अोलीले ६९ औ जन्मदिन यसरी मनाउनुभयो !


 संवाददाता   February 23, 2020   468 जनाले पढ़िसके




तेह्रथुम ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मोत्सव अवसरमा आठराई क्षेत्रका ४ सय ज्येष्ठ नागरिकलाई कपडा र २ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। आफ्नो जन्मदिन मनाउन आठराई गाउँपालिका –४ ईवामा रहेको जन्मघर आएका ओलीले आइतबार नै आफ्नो घरबाट जननेता मदन भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गे साँघु जोढ्ने ६५ किलोमिटर सडकको पनि शिलान्यास गरे। प्रधानमन्त्री ओलीले सङ्क्रान्ति बजारमा पुनःस्थापना गरिएको नेपाल बैंकको १७७औँ शाखाको पनि उद्घाटन गरेका थिए।
आफ्नो ६९औँ जन्मदिन मनाउन आठराई–४ ईवामा रहेको जन्मघर आइपुगेका प्रधानमन्त्री ओलीले सो सडकखण्डको शिलान्यस गर्दै सरकार विकास निर्माणको काममा आक्रमक रुपले लागेको बताए। आफ्नै जन्मघरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरमै आएर जन्मोत्सव मनाउन पाउँदा खुशी लागेको बताएका थिए। ओलीले आफ्नै जग्गामा अनुसन्धानको प्राविधिक शिक्षालय सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए। त्यसका लागि आवश्यक जग्गा आफैँले उपलब्ध गराइदिने प्रधानमन्त्री ओलीको भनाइ थियो।
प्राविधिक शिक्षालय सञ्चालनका लागि जग्गाको अन्य कानूनी प्रक्रिया सबै पूरा भइसकेकाले चालू आर्थिक वर्षभित्रै काम अघि बढ्ने बताएका थिए। ‘कृषि शिक्षाका लागि चाहिने आवश्यक जग्गा मैले आफैँले व्यवस्थापन गरी दिएको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यही घरमुनीको टारबारीमा कृषि शिक्षालय खोल्ने हो, त्यसका लागि मैले नै जग्गा दिने हो।’ सबै युवालाई सस्तो ब्याजदरमा कृषि कर्जा दिएर भए पनि सरकार कृषि अभियानमा लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो। भारी नपुगेर कृषि उत्पादनले बजार नपाएको भन्दै ओलीले प्रर्याप्त मात्रामा स्कुस, बेमौसमी तरकारी, फलफललगायतका कृषि उपज उत्पादन गर्न गाउँलेलाई आह्वान गरे।
स्कुसका लागि आफ्नो जन्मघरको गाउँको हावापानी राम्रो रहेको भन्दै प्रधानमन्त्री ओलीले स्कुस बढीभन्दा बढी उत्पादन गरेर विदेश निर्यात गर्न आह्वान गरे। प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यका साथ आएका ओलीले आफ्नो जन्मघरको सिकुवाको डिलमा बसेर तस्बिर खिचाएका थिए। बाल्यकालका केही दौँतरीसँग पनि उनले भलाकुसारी गरेका थिए। ओलीले जन्मदिनको अवसरमा घरको आँगनमा केक काटेर बुबा मोहनप्रसाद र धर्मपत्नी राधिका शाक्यलाई खुवाए। पत्नी राधिका शाक्यले पनि ओलीलाई केक काटेर खुवाएकी थिइन्।
रासस बाट