खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



अरुण तेस्रोको सुरक्षामा सय प्रहरी


 संवाददाता   February 23, 2020   318 जनाले पढ़िसके




नौ सय मेगावाटको निर्माणधीन अरुण तेस्रो जलविद्युत् परियोजनामा बम विस्फोट र आगजनीका घटना बढ्न थालेपछि सुरक्षाका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । करिब एक वर्षअघि अरुण तेस्रोको सुरक्षाका लागि माग गरे पनि माघ अन्तिम साता मात्र सशस्त्र प्रहरी बल खटाउने निर्देशन आएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।
उनका अनुसार अरुण तेस्रोको प्रधान कार्यालय तुम्लिङटार, पावरहाउस गृह पुखुवा र ड्यामसाइटमा गरी ६५ जना सशस्त्र प्रहरी खटाइएको छ । यसअघि ३५ नेपाल प्रहरी खटिएका थिए ।
पछिल्लो समय प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले अरुण तेस्रोमा बम विस्फोट गराएको थियो । निर्माण कम्पनीले सुरक्षा माग गरेपछि सरकारले सशस्त्र प्रहरी परिचालन गरेको अरुण गुल्म चैनपुरका प्रमुख डिएसपी वासुदेव महतले जानकारी दिए । अरुण तेस्रोको सुरक्षाका लागि माघ २९ बाट सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए ।
पावरहाउस चिचिला गाउँपालिका दिदिङको पुखुवा, केराबारी र ड्यामसाइट मकालु गाउँपालिकाको फ्याक्सिदा, आमराङ, सोलाखानी तथा प्रधान कार्यालय खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा सशस्त्र प्रहरी परिचालन गरिएको हो । सुरक्षामा आवश्यकताअनुसार थप जनशक्ति परिचालन हुने सशस्त्रले बताएको छ ।
भारतीय निर्माण कम्पनी एसजेभिएन सतलजले अरुण तेस्रोको सुरक्षामा एक सय ५८ प्रहरी माग गरेको थियो । विद्युत्गृहस्थल पुखुवा र अरुण तेस्रोको कार्यालय तुम्लिङटारमा विप्लव नेतृत्वको नेकपा समूहले पटक–पटक बम विस्फोट गराएको थियो ।
अज्ञात समूहले केही समयअघि अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवामा सुरुङ खन्न राखेको बुमरमा प्रेसर कुकर बम विस्फोट गराउँदा क्षति पुगेको थियो । अरुण तेस्रोको ड्यामसाइड फ्याक्सिदामा जयप्रकाश एसोसिएटस र विद्युत्गृहस्थल दिदिङमा पट्टेल इन्जिनियरिङ कम्पनीले काम गरिरहेका छन । नयाँ पत्रिका