खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



वार्षिक ६० लाखको रेशम धागो विक्री गर्ने प्रशोधन केन्द्र खण्डहर


 संवाददाता   January 27, 2020   320 जनाले पढ़िसके




रेशम खेतीको विकास र अनुसन्धानका लागि इटहरीमा स्थापित रेशम प्रशोधन तथा अनुसन्धान केन्द्र बजेट अभावले निष्क्रिय बनेको छ । ५ वर्ष अघिसम्म ६० लाख रुपैयाँको रेशम धागो विक्री गर्ने उक्त केन्द्रका कर्मचारी अहिले कामविहीन भएका छन् । विभागले दिँदै आएको १ करोड रुपैयाँभन्दा बढीको बजेट ५ वर्षदेखि कटौती भएपछि रेशम प्रशोधन ठप्प छ ।
दक्षिण कोरिया र जापानको सहयोगमा २०५२ सालमा स्थापित रेशम प्रशोधन केन्द्रले किसानलाई रेशमखेतीका लागि प्राविधिक र आर्थिक सहयोग समेत गर्दै आएको थियो । किसानलाई रेशमका अण्डा वितरण, खेतीका लागि प्राविधिक सहयोग, खोर मर्मतमा अनुदान वितरण र उत्पादित रेशमका कोकुन किसानबाट खरीद, प्रशोधन र धागो विक्री केन्द्रले गर्दै आएको थियो ।
हाल कार्यालयमा कर्मचारीको तलबका लागि मात्र बजेट आउने गर्छ । सबै कार्यक्रमको बजेट कटौती भएपछि आफूहरू किसानका सल्लाहकार मात्र भएको कर्मचारीहरूको भनाइ छ । इलाम, झापा लगायत जिल्लामा अहिले पनि रेशमको खेती तथा प्रशोधन भइरहेको छ । किसानले रेशमको अण्डा र प्राविधिक सहयोग माग्ने गरेको कर्मचारीले बताएका छन् ।
लक्षित कार्यक्रम नभए पनि आफूहरूले किसानलाई सहयोग गरिरहेको कार्यालयका निमित्त प्रमुख जयप्रसाद गेलालले बताए । उपसचिव स्तरका कार्यालय प्रमुखसहित १३ जनाको दरबन्दी रहेको कार्यालयमा अहिले अधिकृत सहित ११ जना मात्र कर्मचारी छन् । ३ वर्षअघि जिल्ला कृषि विकास कार्यालय सरुवा भएका उपसचिव राजकान्त झापछि अहिले कार्यालय प्रमुखविहीन बनेको छ प्रशोधन केन्द्र ।
केन्द्रले किसानबाट प्रतिकिलो ३७५ रुपैयाँमा कोकुन किनेर रेशमको धागो बनाई १ हजार ९०० देखि ३ हजार ५०० सम्ममा गर्दै आएको थियो । तर अहिले बजेट अभाव भएपछि खरीद र प्रशोधन दुवै कार्य बन्द छन् । ५ वर्षदेखि कोकुनको मूल्य नबढेपछि भएपछि अहिले रेशमखेतीका लागि किसान खासै उत्साहित छैनन् । किसानका उत्पादन केन्द्रले खरीद नगरेपछि सोझै व्यापारीलाई सम्पर्क गराइदिन थालिएको गेलालले बताए ।
वार्षिक ७०० देखि १ हजार ५०० किलोसम्म धागो उत्पादन गर्दै आएको केन्द्रबाट उत्पादित धागो किन्न भारतबाट व्यापारीहरू आउने गर्थे । ‘विश्वबजारमा भारत र चीनभन्दा पनि राम्रो रेशम नेपालको भएकाले त्यताका व्यापारीले हारालुछ गरेर किन्थे,’ गेलालले भने । रेशम प्रशोधन बन्द भएपछि मेशिन खिया लागेर पुनः प्रयोगमा आउन नसक्ने अवस्थामा पुगिसकेको अधिकृत गेलालले बताए । अनुसार प्रशोधन मेशिन ७ करोड रुपैयाँमा जडान गरिएका थिए ।
रेशम प्रशोधनका लागि लामो समयदेखि प्राविधिक कार्य गर्दै आएका सुमनकुमार बस्नेतले उपकरण सबै खियाले काम नलाग्ने भएको बताए । दक्षिण कोरियाली प्रविधिबाट निर्माण भएका कार्यालयका झ्यालढोका समेत बिग्रिएकाले दैनिक काम गर्न असहज हुन थालेको कर्मचारीको गुनासो छ ।
केन्द्रले आगामी आवमा रेशम कीरा पाल्ने किसानलाई घर मर्मतका लागि भन्दै प्रदेश सरकारलाई बजेट प्रस्ताव गरेको छ । सरकारबाट बजेट प्राप्त भए किसानलाई आर्थिक सहयोग गर्ने केन्द्रको योजना छ । रेशमका लागि आवश्यक आहारा किम्बुको बिरुवा विक्री मात्र केन्द्रको आम्दानी छ ।
नेपालमा वर्षे्नि २५० मेट्रिक ट्रन धागोको माग छ । २ अर्ब रुपैयाँभन्दा बढीको धागोको आयात भइरहे पनि सरकारले माग धान्नेगरी उत्पादन गर्न नसकेको गेलालको भनाइ छ । बेदराज पौडेल, आर्थिक अभियान दैनिकमा खबर छ