खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



हिमपातले डेढ महिनादेखि सडक अवरुद्ध


 संवाददाता   January 22, 2020   724 जनाले पढ़िसके




लामो हिमपातले कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । उच्च हिमाली यस क्षेत्रमा बाक्लो हिमपातले सडक सेताम्मे छन् ।
अवरुद्ध यातायात सेवाका कारण स्थानीयवासीको यात्रा कठिन भएको नाम्खा गाउँपालिका वडा नम्बर ५ का स्थानीय लामाक्याप लामाले बताउनुभयो । नाम्खाबाट जिल्ला सदरमुकाम सिमकोट आई पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । काम परे हिँडेर जानुको विकल्प नभएकाले कामै नपरोस् भन्ने उहाँको चाहना छ ।
चीनको ताक्लाकोटबाट हिल्सा हुँदै सिमकोटसम्म सञ्चालनमा रहेको सडक अवरुद्ध हुँदा उपभोग्य सामानदेखि विकास निर्माणका सामान ढुवानी हुन नसकेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो ।
हुम्लामा गत मङ्सिर १२ गतेबाट हिमपात सुरु भएको थियो । यो क्रम पटक पटक जारी रहँदै आएको छ । यस सडकमा टिपर, बोलेरो र ट्याक्टर चल्ने गरेका थिए । ९५ किलोमिटर दूरी रहेको यो सडकमा सबै किसिमका गरी छ दर्जनभन्दा बढी यातायातका साधन गुड्दै आएका थिए ।
सवारी साधन अहिले गाउँमै थन्किएका छन् । सडक खण्डको उच्च क्षेत्रमा चारदेखि पाँच फिट हिउँ जमेको बताइएको छ । भारी हिमपात पन्छाएर गाडी गुडाउन सकिने अवस्था नभएको चालक बताउँछन् ।
सडकको स्तरोन्नतिका लागि दस स्थानमा काम भइरहेको थियो । अहिले यो पनि बन्द भएको सिमकोट हिल्सा सडक आयोजनाका योजना प्रमुख शशाङ्क मिश्रले बताउनुभयो ।