खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भक्तपुरका बौद्ध मार्गीले मनाउँदै सम्यक ’महादान’ पर्व


 संवाददाता   January 15, 2020   890 जनाले पढ़िसके




माघे संक्रान्तिलाई विभिन्न जाति र धर्मावलम्बीले आ(आाफ्नै तरिकाले मनाउँछन्। विशेष गरी त्रिवेणीधाममा नुहाउने र जमिनमुनि फल्ने तरुल, सखरखण्ड, पिँडालु खाने, दान गर्ने र नेवार समुदायले घ्यू चाकुसँगै तिलका लड्डु खाने तथा चिसोबाट शरीर जोगाउन तेल लाउने प्रचलन माघे संक्रान्तिमा पाइन्छ।
यसै अवसरमा भक्तपुरका बौद्ध धर्मावलम्बीले पनि बुधबार सम्यक महादान पर्व धुमधामले मनाउँदैछन्। बुद्ध धर्म एक अनिश्वरवादी धर्म हो। ऐतिहासिक रुपमा यो धर्म शाक्यमुनि बुद्ध (गौतम बुद्ध) र उनका अनुयायीका शिक्षामा आधारित धर्म हो। बौद्ध दर्शनमा दानलाई पवित्र र सबैभन्दा पुन्यको कार्य मानिन्छ।
बौद्धधर्ममा सबैभन्दा ठूलो दान पर्वको रुपमा पञ्चरा मनाइन्छ। भक्तपुरका बौद्ध धर्मावलम्बीले भने प्रत्येक वर्ष माघे संक्रान्तिको दिन सम्यक महादान पर्व मनाउँदै आएका छन्।
साधारण अर्थमा ठिक तरिकाले ग्रहण गर्नु, अतिवादी र भौतिकवादी नभई मध्यस्थ मार्ग अपनाउनु नै सम्यक वा मध्यम मार्ग हो। मध्यम मार्ग आठवटा छन्। जसलाई आर्य अष्टांगिक मार्ग भनिन्छ।
त्यस्तै‚ सम्यकको अर्थ सत्य र धर्म सम्मिश्रण भई ‘सम्यक धर्म’ पनि हो। यसले दुःख नाश गरी पुन्य बढाएर बोधी ज्ञानको मार्गमा प्रतिष्ठित गरी निर्वाणमा र्पुयाउने, राग द्वेष लोभ आदि मारगुण नास गरी दिने गरिन्छ। भक्तपुरको सम्यक महादान भक्तपुरमा सम्यक महादान नेपाल संवत ७८७ देखि नियमति हुँदै आएको इतिहास छ।
तत्कालीन प्रसिद्ध आचार्य सुरतवज्रको वंशज भक्तपुर चतुव्रम्ह विहारका बज्राचार्य जयरत्न र उनका छोराहरूले व्यवस्थित रुपले नेपाल संवत ७८७ मार्ग शिल शुक्ल तृतीयाका दिनमा आफ्नो दिवंगत पिताको नाउँमा रम्यकुटागार सुवर्ण चैत्य स्थापना गरी दीपंकर बुद्धलगायत सम्यक संघलाई भोजनदान गरी सम्यक महादानको शुभारम्भ गरेको वंशावलीमा उल्लेख भएको पाइन्छ।
सम्यक दान शुरु गरेको वर्ष जयकीर्ति महाविहार हाल दुधपाटीस्थित थथुवही जीर्ण अवस्थामा रहेकाले नेपाल संवत ७९४ मा राजा जयजितामित्र मल्लको पालामा त्यसको जीर्णोद्वारपूर्ण गरी सुवर्ण ध्वजा फहराइ जयकीर्ति महाविहार थथुवही विहारको नामले त्यसको प्रतिस्था यज्ञ गरी सम्यक संघ भोजनदान गरेको पाइन्छ।
त्यसबेलादेखि नियमित रुपमा माघे संक्रान्तिका दिनमा प्रत्येक वर्ष यो पर्व मनाइँदै आएको छ। हाल यो पर्वलाई सम्यक महादान व्यवस्थापन सहयोग समितिले नियमित र व्यवस्थित रुपले सञ्चालन गर्दै आइरहेको छ।
समितिका अनुसार यसवर्ष सम्यक महादान पर्व मनाउने पालो समितिका सदस्य जुलुमकाजी बज्राचार्यको परिवारको रहेको छ। सम्यक महादानमा सहभागी हुने देवी(देवता र संघहरू नियमित रुपमा सञ्चालन हुँदै आइरहेको सम्यक महादानमा भक्तपुर नगरभित्रका दिपंकर बुद्ध तथा संघ सदस्यहरूको सहभागिता रहन्छ।
सम्यक महादानमा गुठी परिवारको कूलदेवता हेबज्र नैरात्मा, प्रशन्नशील महाविहारको देवता लोकेश्वर र मूल दीपंकर बुद्ध र चतुर्ब्रम्ह महाविहार, मंगलधर्म द्वीप महाविहार झौरवही गाल्मढी, जयकीर्ति विहार थथुवही इटाछेँ, बौद्ध समकृत विहार कुथुवही भार्वाचो गरी पाँच स्थानका दीपंकर बुद्धलाई सहभागी गराइन्छ।
त्यसैगरी सम्यक महादान गुठीका संस्थापकलगायत उनका वंशजहरू श्री बज्राचार्य जयरत्नको नाममा ने.सं. ८०७ सालमा स्थापित, श्री वज्राचार्य जयमुनी, श्री बज्राचार्य जयधर्म र बज्राचार्य पूर्णराजले सम्यक महादान गरी स्थापना गरेका सुवर्णवर्णका चार सम्यक देवता, चार लुँद्यो (सुवर्ण दीपंकरहरू) तथा प्रशन्नशील महाविहारका स्थवीर आजु, गुणकीर्ति महाविहार (थिमि) का उपाध्यायगुरुजु एवं मुल पुरोहित गुरुजुहरू, सम्यक महादान आयोजना गर्दा आयोजकबाट स्थापना गरेका रम्यकुटागार शैलीको वज्रधातुचैत्य, बौद्ध संघहरूमा भक्तपुरको सबै संघको सबभन्दा ज्येष्ठ संघनायक पशुपति महाविहारको स्थवीर आजु, सम्यक महोत्सवको विधि विधान अनुसार कार्य सम्पन्न गर्ने मूल आचार्य गुरु र उपाध्याय गुरुलगायत भक्तपुर नगरभित्र स्थापित परम्परागत बाहाःहरूका संघ सदस्य शाक्य बज्राचार्यहरूलाई निमन्त्रण गरी दान गरिन्छ।
ने.सं. १०४४ सालमा भक्तपुर काठमाडौं विश्वकर्माछेँ टोलका शाक्य भिक्षु जुजु रत्नले ऐच्छिक सम्यक दान आयोजना गर्दा भक्तपुरका प्रमुख पाँच दीपंकरहरू, सुवर्ण देवतासहित लोकेश्वर, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनी, नमोबुद्ध, जनवहाद्य, बनेपा, पनौती, श्रीखण्डपुरू, नाला, साँगा, थिमि आदि ठाउँमा रहेका दीपंकर तथागतहरू समेत उपस्थित भएको एतिहासिक तथ्य रहेको भक्तपुर सम्यक महादान व्यवस्थापन समितिका अध्यक्ष गणेश बज्राचार्यले बताए।
सम्यक महादान पर्वमा दान गर्ने वस्तुहरू सम्यक दानमा भूमिमा उव्जाउ हुने सबै प्रकारका अन्न, गेडा मास, मास, रातो मास, गेडा मुगी, केराउ, सेतो भटमास, खैरो भट्मास, मस्याम, बोडी, गहतलगायतका गेडागुडी, बेथे, मेठी, सुप, काउली, तोरीको साग, रायो, सिमल, सकिमुथ, स्वाँचा, कलांचा, आमली, कछेँलगायतका सागसब्जी, देलचा, वेल, सतवेल, अमला, खय्पी, चयपी, उखुलगायतका फलफूल दान गरिन्छ। साथै धान, चामल, लड्डु (रोटी र सखर मिलाई बनाएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ।
त्यस्तै सम्यक भोजनमा सहभागी गृहस्थ भिक्षुहरू बज्राचार्य र शाक्य वर्गलाई धान(चामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ। यस पर्वमा दान गर्ने दाताले परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षु, शाक्य र बज्राचार्य भन्तेलाई भोजन, अन्न र दक्षिणा दान गरी मनाउँदै आएको पाइन्छ।