सुनसरीको कोशी गाउँपालिकामा हात्ती आक्रमणबाट तीनजना घाइते भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहाबाट निस्केर आएको जंगली हात्तीको आक्रमणबाट तीनजना घाइते भएको स्थानीय हासिम अन्सारीले जानकारी दिए ।
घाइते हुनेहरूमा कोशी गाउँपालिका वार्ड नम्बर ३ बस्ने जगदीश साह, उनकी पत्नी चननदेवी साह र बराह नगरपालिका ११ मधुवन बस्ने पेन्टलाल साह रहेका छन् ।
उनीहरूको धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र पेन्टलालको बिराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको अन्सारीले जानकारी दिए । उनीहरु कोसी टप्पुबाट सिटी सफारिमा घर तर्फ आइरहेको बेला हातीले आक्रमण गरेको थियो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर दिनहुँजसो गाउँ पस्ने हात्ती त्रासले कोशी क्षेत्रका सर्वसाधारण राति जाग्राम बस्दै आएका छन् । यद्यपि यसलाई रोक्न कोशी टप्पु वन्यजन्तु आरक्षले ठोस पहल नगरेको स्थानीयको गुनासो छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लाको ७५ किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष भित्रबाट गाउँ पस्ने हात्ती र अर्नाको समूहले अन्नबालीमा क्षति पुर्याउनुका साथै मानवीय क्षति समेत गर्दै आएको छ ।
गाउँ पस्ने जङ्गली हात्तीको त्रासले कोशी गाउँपालीका क्षेत्रका सर्वसाधारण वर्षौंदेखि आतंकित छन् । रातीको समय आउने हात्तीको समूहले स्थानीयका घर, गोठ भत्काउनुका साथै बालीनाली नष्ट गर्न थालेपछि सर्वसाधारण आतंकित भएका हुन । घेराबेरा गरिएपनि प्रभावकारी नभएकोले हात्ती गाउँ पस्ने क्रम नरोकिएको स्थानीय हासिम अन्सारी बताउँछन् ।
पटकपटक हात्ती आतंक रोक्न आफूहरूले ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएको उनले बताए । कोशी टप्पु वन्यजन्तु आरक्षबाट रातको समयमा आउने हात्तीको समूहले घर भत्काई भण्डारण गरी राखेको धान,गहुँ, चामल, पिठो, मकै, खाने र नष्ट गर्दै आएको छ ।