खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



अलैँची बिक्री नभएपछि किसान मारमा


 संवाददाता   December 25, 2019   167 जनाले पढ़िसके




जिल्लाको उच्च लेकाली भेगमा लगाएको अलैँचीको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन । परम्परागत रूपमा मकै, कोदो, गहुँलगायत बालीको उत्पादनमा गिरावट आउन थालेपछि किसानले वैकल्पिक रूपमा अलैँची खेती सुरु गरेका थिए ।
अन्य बालीभन्दा अलैँची खेतीबाट राम्रो आम्दानी हुने भन्दै किसान अलैँची खेतीप्रति आकर्षित भएका थिए । उत्पादित अलैँची खरिद गर्न व्यवसायी घरघरमै आउने र भाउ पनि राम्रो पाउने भएपछि एकपछि अर्को गर्दै धेरै किसान परम्परागत खेती त्यागेर व्यावसायिक रूपमा अलैँची खेतीको सुरुवात गरेका हुन ।
तर, उत्पादित अलैँचीले मूल्य नपाउँदा किसान मर्कामा परेका छन । विगत वर्षहरूमा प्रतिकेजी २ हजार ६ सय रुपैयाँसम्म गाउँमै बिक्री वितरण गरेका किसानले यस वर्ष प्रतिकेजी ५ सय रुपैयाँमा पनि बिक्री नभएपछि अलैँची घरघरमै थन्किन थालेको छ ।
यस वर्ष जरा कुहिने र पातसमेत खुइलिने रोग लागेपछि अलैँची उत्पादनमा कमी आएको र उत्पादित अलैँचीले मूल्यसमेत नपाउँदा चिन्ता थपेको छ । ‘विगतका वर्षभन्दा यस वर्ष उत्पादनमा धेरै कमी आयो । उत्पादन घटे पनि मूल्य राम्रो आउला भन्ने अपेक्षा थियो, तर मूल्य पनि कौडीको भाउमा र्झयो ।’
रामेछापको उच्च क्षेत्रअन्तर्गत उमाकुण्ड गाउँपालिकाको गुम्देल, वाम्ती, कुभुकास्थली, प्रीति, भुजी, गुप्तेश्वरलगायत स्थानमा बढी मात्रामा अलैँची खेती गरिन्छ । गत वर्षहरूमा किसानको घरघरमै पुगी व्यवसायीले अलैँची खरिद गर्ने गर्थे । यस वर्ष अलैँची व्यवसायी खरिदका लागि नआएको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुभुकास्थलीका किसान बालकुमार कार्कीले बताए ।
गत वर्ष गाउँघरमै प्रतिकिलो २ हजार ६ सय रुपैयाँसम्म पनि बिक्री भएको, तर अहिले भने बिक्री वितरण नै ठप्प रहेको उमाकुण्ड गाउँपालिका–२ वाम्तीका रोकट बस्नेतले बताए ।
जिल्लाको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाका करिब ५ सयभन्दा बढी किसानले अलैँची खेती गर्दै आएका छन । किसानले उत्पादन गरेको अलैँची धबिक्रीका लागि केही व्यवसायीसँग छलफल भइरहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए ।