खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



प्रदेश १ सरकारले उर्लाबारीमा ट्रमा सेन्टरसहितको अस्पताल बनाउने


 संवाददाता   December 24, 2019   402 जनाले पढ़िसके




प्रदेश १ सरकारले मोरङको मंगलबारे अस्पतालमा ट्रमा सेन्टरसहितको अस्पताल बनाउने भएको छ ।
विभिन्न किसिमका दुर्घटना र प्राकृतिक प्रकोपमा परेकाहरुलाई तत्काल उपचारको प्रबन्ध मिलाउने उद्देश्यले उर्लावारी नगर अस्पताललाई विशेष सेवासहितको ट्रमा सेन्टरका रुपमा विकास गर्ने तयारी थालिएको हो ।
तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र रहेको मोरङको उर्लावारीस्थित मंगलबारे अस्पताल हाल १५ शैय्यामा सञ्चालित छ । अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको हो ।
त्यसका लागि गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी चार करोड रुपैयाँको बजेट छुट्याइएको छ । जसमध्ये २ करोड रुपैयाँबाट आवश्यक उपकरण खरिद गरी सकिएको छ ।
उक्त अस्पताल राजमार्गसँग जोडिएका कारण पनि दैनिकजसो बिरामीको चाप बढी हुने गरेको छ । अहिले नगर अस्पतालका रुपमा रहे पनि यहाँबाट सरकारले निशुल्क प्रदान गर्ने स्वास्थ्य सेवाहरु प्रवाह भइरहेको छ ।
जसका कारण सेवा लिने बिरामीको चाप बढी हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन योगेशकुमार मण्डल बताउँछन् ।
पछिल्ला वर्ष पूर्व–पश्चिम राजमार्गलगायतका राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेले समयमा उपचार नपाउँदा ज्यान गुमाउनु परेको दुखद् अवस्थालाई मनन गरी यस्तो तयारी थालिएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकार मातहत रहने गरी चालु आर्थिक वर्षको अन्त्यबाटै अस्पतलाबाट ट्रमा सेन्टरसहितको सेवा उपलब्ध गराउने तयारी रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राईको भनाइ छ ।