खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



चिसोका कारण रौतहटमा चार जनाको मृत्यु


 संवाददाता   December 24, 2019   174 जनाले पढ़िसके




चिसोका कारण रौतहटमा चार जनाको मृत्यु भएको छ । पुस १ देखि सुरु भएको शीतलहरको कारण अत्याधिक चिसोबाट कठ्याँग्रिएर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी, ६९ वर्षीय जनकदास तत्मा, गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझी रहेका छन् । सहनी र तत्माको आइतबार मृत्यु भएको हो भने बैठा र माझीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारको क्रममा पुस ३ गते मृत्यु भएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा चिसोका कारण चार जनाको मृत्यु भएको जानकारी आएको बताएका छन् । तर, यसबारे मेडिकल रिपोर्ट भने नआएको उनको भनाइ छ ।
जिल्ला अस्पताल रौतहटका डा. कृष्ण साह भने पोष्टमार्टमबाट चिसोको कारण मृत्यु भएको रिर्पोट जिल्ला अस्पतालले दिने बताउँछन् । यसका लागि काठमाडौंस्थित त्रिवि टिचिङ अस्पतालमा मात्र पोष्टमार्टम हुने डा. साहको भनाइ छ । अत्यधिक चिसोको कारण विभिन्न रोगहरुले च्याप्ने गर्दा पनि मृत्यु हुने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी थापाले चिसो मौसममा बाहिर ननिस्कन तथा आगोको सहारा एवं न्यानो लुगा लगाएर बस्न आग्रह गरेका छन् । विपत व्यवस्थापन समितिको पहलमा सोमबार बडहर्वामा अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी तथा आरडिसी नेपालको पहलमा ६० विपन्न परिवारलाई कम्बल वितरण, स्वास्थ्य परीक्षणलगायतको सेवा दिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटले ५० भन्दा बढी स्थानमा वन कार्यालयको समन्वयमा दाउरा वितरण गरेको प्रहरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिएका छन् ।