सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् । लिगको तेस्रो दिन मंगलबार दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक–एक खेल हुनेछन् ।
मंगलबार पहिलो खेलमा न्युरोड टिम एनआरटी र सरस्वतीबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिनको साढे १२ बजे सुरु हुनेछ ।
यस्तै, दशरथ रंगशालामा हुने दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा दिउँसो साढे २ बजे आमनेसामने हुनेछन् । लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अङ्क बटुल्न प्रयास गर्नेछन् ।
एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य पहिलो खेल निकै महत्वपूर्ण हुने हुँदा तीन अंकको लागि खेल्ने बताउँछन् ।
उनको प्रशिक्षणमा गतबर्ष च्यासलले आठौंं स्थान प्राप्त गरेको थियो । नेपाल यू–२३ टिम समेत हेरिसकेका उनी एनआरटीलाई शीर्ष ६ भित्र अटाउने लक्ष्यमा छन् ।
एनआरटीले यस पटक राष्ट्रिय टिमका पुर्ब सदस्य प्रकाश बुढाथोकी, सागका स्वर्ण बिजेता टिमका सदस्य स्ट्राइकर राजेश पराजुली सहित नेपाल पुलिस क्लबका पुर्ब कप्तान बिक्रम धिमाललाई मुख्य खेलाडीको रुपमा क्लबमा जोडेको छ ।
यता, सरस्वतीका प्रशिक्षक प्रदिप नेपाल पुन एनआरटीलाई लिगमा हराउने योजना रहेको बताउँछन् । गत बर्ष सरस्वती हेरेका उनी एनआरटीसंग सोही नतिजा निकाल्ने प्रष्ट पार्छन् ।