पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । धार्मिक पर्यटकका लागि सुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न चाहने पर्यटकका लागि निकै फलदायी बन्ने सीता एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले बताए ।
सीता एयरले भद्रपुर र विराटनगर विमानस्थलबाट हप्तामा एकपटक सुकेटार र लामिडाँडा उडान भर्ने तथा यी दुवै विमानस्थलबाट हलेसी र पाथीभरा दर्शन गर्न हेलिकप्टर उपलब्ध हुने प्रबन्धक सिंहले बताए।
प्याकेज टूरका लागि एक यात्रुले २३ हजार रुपैयाँ तिर्नुपर्ने र ती यात्रुले हवाईजहाज तथा हेलिकोप्टरको सुविधा पाउने भनिएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी ल्याइएको सो सेवाले नेपाल–भारतका तीर्थालुलाई लक्षित गरिएको छ ।
२९ मंसिरदेखि सुरु हुने उक्त सेवाबाट यस क्षेत्रका होटल व्यवसायी र ट्राभल्स सञ्चालक उत्साही भएका ट्राभल्स एवं होटल व्यवसायी भविष्य श्रेष्ठले बताए ।
मोरङ व्यापार सङ्घका अध्यक्ष एवं सीता एयरका प्रर्वद्धक प्रकाश मुन्दडाले नेपाल वायु सेवा निगमले फाटफुट उडान भर्ने सो स्थानका लागि सीता एयरले गरेको प्रयास सराहनीय बताए ।