खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मिस पूर्वाञ्चलको अडिसन शुरु


 संवाददाता   November 21, 2019   265 जनाले पढ़िसके




पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित ‘नेपाल आइस नेचुरा ‘मिस पूर्वाञ्चल’ को दशौं संस्करणको पहिलो अडिसन धरानस्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न भएको छ ।
धरानमा सम्पन्न अडिसनमा १९ जना सहभागी भएको आयोजक सिल्भर इण्टरटेन्मेण्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।
अडिसनमा धरान, धनकुटा, तरहरा, इटहरी, विराटनगर, बेलबारी र पथरीबाट प्रतियोगीहरू सहभागी थिए । अडिसनको निर्णायकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल, मिस पूर्वाञ्चल २०१४ नेमिता आङ्बुहाङ लिम्बू, मिस पूर्वाञ्चल २०१६ फस्ट रनर अप इक्सा मादेन, मिस पूर्वाञ्चल २०१७ फस्ट रनर अप सिम्रन श्रेष्ठ र मिस पूर्वाञ्चल २०१८ फस्ट रनर अप अनिला क्षेत्री रहेका थिए
सहभागीहरूको योग्यता, प्रस्तुतिका आधारमा प्रतिस्पर्धी छानिने आयोजकले जनाएको छ । त्यस्तै विराटनगर, इटहरी र दमकमा समेत बिहीबारदेखि आइतबारसम्म कलेज एक्टिभेसन र अडिसन गरिने सिल्भर इण्टरटेन्मेण्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए । त्यस्तै टाढाबाट आउन छुटेकाहरूको समेत आइतबारसम्म धरानमा अडिसन राखिएको श्रेष्ठले बताए ।
अडिसनबाट छानिएका १९ देखि २१ जनासम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागी गराइने आयोजकले जनाएको छ । साउन ३१ र ३२ गते धरानका विभिन्न कलेजमा मिस पूर्वाञ्चलको पब्लिसिटीका लागि कलेज क्याम्पेन गर्ने तयारी भएको आयोजकले जनाएको छ । मिस पूर्वाञ्चलको आठौं संस्करण भदौ ३१ गते धरानमा हुँदैछ ।
प्रतियोगीहरूलाई व्यक्तित्व विकास, फेसन, र्याम्प वक, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवकलगायतका अन्य विभिन्न विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइने छ । कार्यक्रमको कोरियोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्नेछिन् । प्रतियोगितालाई प्रदेश नं. १ तथा पूर्वी क्षेत्रव्यापी र पर्यटन प्रवद्र्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमहरूसमेत राखिएको छ ।
सहभागीहरूलाई रक्तदान, ट्राफिक सचेतना र सरसफाइका कार्यक्रम, सामाजिक उत्तरदायित्वका कार्यहरूमा यस वर्ष पनि सहभागी गराइनेछ । ती कार्यक्रमहरू पूर्वका विभिन्न शहरहरूमा आयोजना गरिनेछ ।
वराह ग्रुपको प्रस्तुति, सिजी ब्रुअरीको मुख्य प्रायोजन र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सह–प्रायोजन तथा सिल्भर इण्टरटेन्मेण्टको आयोजनामा हुने नेपाल आइस मिस पूर्वाञ्चल २०१९ को अन्तिम प्रतिस्पर्धामा विजेतालाई मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै दुई लाख नगद र अध्ययनका लागि छात्रवृत्ति दिइने आयोजकले जनाएको छ ।
त्यस्तै फस्ट र सेकेण्ड रनर अपलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कारसँगै छात्रवृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेण्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस ब्युटीफुल स्माइल र मिस पर्सनालिटी, मिस ब्युटीफुल कम्प्लेक्सनलगायतका विभिन्न विधामा समेत पन्ध्र हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
मिस पूर्वाञ्चलको उपाधि यसअघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले, २०१३ मा सुनसरीकी नेहा बजाज, २०१४ मा मोरङकी नेमिता आङ्बुहाङ, २०१५ मा मोरङकी प्रियङ्का श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बू र २०१८ मा झापाकी पूजा श्रेष्ठले जितेका थिए । ब्लाष्टखबर