खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



केराबारीमा धुलोमै कालोपत्रे


 संवाददाता   November 16, 2019   269 जनाले पढ़िसके




मोरङको केराबारी गाउँपालिकास्थित केराबारी बजारमा धुले सडकमै कालोपत्रे गरेको पाइएको छ । केराबारी बजारको मच्छिन्द्र चोकदेखि पश्चिमपट्टि झण्डै ५० मिटर आसपासमा सडकको दायाँ–बायाँ किनारमा रहेको धुलोसमेत नहटाई सडक कालोपत्रे गरेको छ ।
आर वान कन्स्ट्रक्सन विराटचोकले ठेक्का पारी गरेको कालोपत्रे सडकको स्थानीयलाई चित्त नबुझेपछि जनप्रतिनिधिलाई देखाई ध्यानाकर्षण गरेका थिए । २०७६ साल कात्तिक मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएका कारण ठेकेदारले हतार–हतार काम गरेको बुझिएको छ ।
साथै सडक कालोपत्रे गर्ने क्रममा कम्पनीले सम्झौता अनुसार काम नगरेको पनि स्थानीयले बताएका छन् । सडकको बेस (मोटाइ) न्यूनतम् ४० एमएम र चौडाइ ५ मिटर रहने गरी सम्झौता पत्रमा उल्लेख गरिएको भए पनि कतिपय ठाउँमा २० एमएम मात्र मोटाइ रहेको स्थानीयको भनाइ छ । यता वर्षाचोकदेखि पश्चिममा पनि करिब २० मिटर सडकको धुलोमै कालोपत्रे गरिएको छ ।
गाउँपालिकाको १ करोड बढीको लागतमा ठेकेदार कम्पनीले कात्तिक मसान्तभित्र सक्ने गरी पछिल्लो पटक समय थपेका थिए । यसअघि पनि केराबारी–८ को हजार बिघामा सडक कालोपत्रे गर्दा सडक गुणस्तरहीन गरेको भन्दै स्थानीयले अवरोध गरेका थिए ।
स्थानीयको अवरोधपछि गाउँपालिका उपप्रमुख शान्तिकुमारी लिम्बू भूजेल र वडा नं. ८ का वडाध्यक्ष मनोज खड्काले ठेकेदारलाई मापदण्डअनुसारको कालोपत्रे गर्न लगाउने आश्वस्त पारेपछि पुनः कालोपत्रे सुचारु गरिएको थियो । कालोपत्रे निर्माणमा गाउँपालिकाका प्राविधिकसमेतले जिम्मेवारीपूर्वक निरीक्षण तथा नियमन नगरेको स्थानीयले बताएका छन् । प्राविधिकहरूले कडाइपूर्वक निरीक्षण गर्ने हो भने ठेकेदारहरूले लापरबाही गर्नै नसक्ने स्थानीयहरू बताउँछन् ।
यता गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले सडक निर्माण गर्ने ठेकेदार कम्पनी राम्रो भए पनि स्थानीयले निगरानी नगर्दा कर्मचारी र त्यहाँ खटिने मजदुरहरूले राम्ररी फिल्ड नहेरी काम गर्ने गरेको बताए । ‘व्यवसाय गर्ने मान्छेले त्यसै पनि नाफा खोज्ने भएकाले दुई–चार पैसा बचाउनपट्टि लाग्छन् तर त्यसको निगरानी सरोकारवाला सबै पक्षले गरे काम राम्रो हुन्छ’ –अध्यक्ष कार्कीले भने ।
ब्ललाष्टखबर