खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



बंगलादेशका राष्ट्रपतिले फेवातालमा डुंगा सयर गर्ने


 संवाददाता   November 14, 2019   188 जनाले पढ़िसके




 

चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा आउँदैछन् । पोखराको फेवातालमा उनलाई डुंगा सयर गराउने कार्यक्रम छ ।
उनी नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट १० बजे पोखराका लागि प्रस्थान गर्नेछन् । उनले पोखरामा करिब चार घण्टा बिताउने छन् । बंगलादेशका राष्ट्रपतिको पोखरा आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका अर्थमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य खगराज अधिकारीलगायतले स्वागत गर्नेछन् ।
एयरपोर्टबाट राष्ट्रपति हमिद लेकसाइडस्थित फिस्टेल लजमा केहीबेर आराम गर्न जानेछन् । त्यसपछि फेवातालमा उनले डुंगा सयर गर्ने कार्यक्रम छ ।
केहीबेर डुंगा सयर गरेपछि पुनः फिस्टेल लजमा खाना खाएर रुपाकोट रिसोर्ट जाने कार्यक्रम निर्धारण गरिएको छ । राष्ट्रपति हमिद हेलिकोप्टर चढेर र भ्रमण दलका अन्य सदस्य गाडीबाट रुपाकोट रिसोर्ट जानेछन् । रुपाकोट रिसोर्टमा करिब एक घण्टा बसेपछि उनी आजै अपराह्न सवा चार बजेतिर काठमाडौं फर्किने कार्यक्रम छ ।
रुपाकोटमा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार मन्त्री एवम् गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेत, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार गोविन्द नेपालीलगायत पनि रुपाकोट जाने कार्यक्रम छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने हाल अमेरिका भ्रमणमा छन् ।
राष्ट्रपति हमिदको पोखरा भ्रमण पूरै अनौपचारिक हुने कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए ।
पोखराबाट फर्किएपछि शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । त्यसपछि उनी शुक्रबारै करिब पाँच बजे स्वदेश फर्किने कार्यक्रम छ ।
राष्ट्रपति हमिद चारदिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो ढाकाबाट काठमाडौं आएका थिए । उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गर्न राष्ट्रपति भण्डारी आफैं पुगेकी थिइन् । बिदाइ गर्न पनि राष्ट्रपति भण्डारी नै जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।