खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



यमपञ्चक अर्थात् तिहार आजबाट सुरु, कागपूजा भोलि


 संवाददाता   October 25, 2019   129 जनाले पढ़िसके




नेपाली हिन्दूधर्मालम्बीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहार सुरु भए पनि कागपूजा भने भोलि गरिँदै छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको छ ।
यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको नेपाल पञ्चांग निर्णायक समितिको भनाइ छ ।
कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर पूजा र र बेलुकी लक्ष्मीपूजा गर्न समितिले सुझाएको छ ।
गाई, गोरु र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । यो पूजा यस वर्ष कात्तिक ११ गते परेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्न पञ्चांग निर्णायक समितिले सुझाएको छ ।
कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका परेको छ । बिहान ११ः५५ बजे भाइटीकाको उत्तम साइत परेको छ । मंगलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।
कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको हो ।
भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा बत्ती बाल्न शुरु भइसकेको छ । अनलाईनखबर