खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



डीभी भर्न पासपोर्ट अनिवार्य भएपछि राहदानी विभागमा भीड


 संवाददाता   October 22, 2019   206 जनाले पढ़िसके




डीभी भर्न पासपोर्ट अनिवार्य भएपछि राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड अस्वाभाविक रूपमा बढेको छ । सोमबार आवेदनको संख्या झन्डै ३ हजार पुगेको छ । यसअघि दैनिक बढीमा ५ सय आवेदन पर्दै आएको थियो । दसैंलगत्तै दैनिक हजार हुँदै सोमबार अत्यधिक वृद्धि भएको हो ।
असोज १५ (अक्टोबर २)मा खुलेको डीभी २०२१ कार्यक्रम कात्तिक १९ (नोभेम्बर ५)मा सकिन्छ । अमेरिकाले यसपटक डीभी भर्दा पासपोर्ट नम्बर अनिवार्य गरेकाले विभागमा गत शुक्रबारदेखि भिड बढेको हो ।
शुक्रबार १ हजार ८ सय ५५ आवेदन परेकामा आइतबार २ हजार ६ सय ६२ पुग्यो । सोमबार साँझसम्म निवेदन बुझ्ने काम भइरहेको थियो । त्यो बेलासम्म २ हजार ७ सय आवेदन परेको विभागले जनाएको छ । यो भीड २०१० को डिसेम्बर २६ पछिको सर्वा्धिक हो । त्यति बेला हस्तलिखित राहदानी विस्थापन गरी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सुरु गरिएको थियो । त्यति बेला ३ हजार ४ सयसम्म आवेदन परेको थियो ।
विभागले लाइभ इनरोलमेन्ट प्रणाली (व्यक्ति आफैं उपस्थित भएर विवरण दिने)बाट यति धेरै संख्यालाई सम्बोधन गरेको पहिलो पटक हो । दुई दिनदेखि राजस्व प्रणालीको सफ्टवेयर पनि बिग्रेका कारण कम्प्युटर बिलिङ हुन सकेको छैन । मुलुकभर राजस्व हातले लेखेर लिनुपरेको छ । कर्मचारी साँझ अबेरसम्म बसेर पासपोर्ट तयार पारिरहेका छन् ।
राजस्व १५ हजार तिरे आवेदन दिएकै दिन, १२ हजार तिरे भोलिपल्ट र १० हजार भए पर्सिपल्ट पासपोर्ट उपलब्ध गराइन्छ । जिल्लामा ५ हजार रुपैयाँ लिएर २० दिनभित्र पासपोर्ट उपलब्ध गराइन्छ । विभागले जिल्ला र विदेशस्थित नियोगबाट आएका आवेदनअनुसार पासपोर्ट बनाएर पठाउने गरेको छ । विभागका लागि मन्त्रालयले एउटा गाडी पनि थप गरेको छ ।
सरकारले ई–पासपोर्टमा जाने तयारी गरिरहेको छ । त्यसका लागि विभागले अन्तर्रा्ष्ट्रिय टेन्डर प्रक्रिया पूरा गरेको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भन्दा ई–पासपोर्टमा दोब्बर बढी खर्च लाग्ने भएकाले राजस्व थपघट हुन सक्छ । त्यसले गर्दा पनि कतिपयले पासपोर्ट बनाउन लागेको अधिकारीको बुझाइ छ ।
न्युजलय