खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



तातोपानीभन्दा रसुवागढी(केरुङ नाका प्राथमिकतामा, सुरुङ मार्ग बनेपछि बाह्रै महिना सञ्चालन हुने


 संवाददाता   October 19, 2019   293 जनाले पढ़िसके




कात्तिक २, २०७६ शनिबार
तीन तर्फबाट भारतको सीमा जोडिएको नेपालको उत्तरी क्षेत्र भने चीनसँग जोडिएको छ । छिमेकी चीनसँगको सीमा सम्पर्क पूर्वको ताप्लेजुङदेखि सुदूर पश्चिमको दार्चुलासम्मको झण्डै १ हजार १ सय ५० किलोमिटर लम्बाइ फैलिएको छ ।
यसमध्ये अधिकांश सीमा क्षेत्र हिमालले छुट्याइदिएको छ । जसमा २६ भञ्ज्याङ र १ दर्जन बैकल्पिक नाका चीनसँग जोडिएका छन् । तातोपानी, केरुङ र कोरला मुख्य नाकाको रुपमा प्रयोगमा रहे पनि अन्य नाका तथा भञ्ज्याङहरु भने प्रयोग विहिन जस्तै छन् ।
दार्चुलाको तिङ्कर भञ्ज्याङ, हुम्लाको लाप्चे, मुगको नाम्ला, संखुवासभाको राग्ला लगायत उत्तरतर्फ सीमा जोडिएका ११ जिल्लाका २६ वटा भञ्ज्याङ सामरिक हिसाबले ज्यादै महत्वपूर्ण र संवेदनशील छ ।
यसै गरी हुम्लाको हिल्सा, संखुवासभाको किमाथांका, बझाङको उरै र राइढुङगा, हुम्लाको चुवा, टाँके र लिमी, मुगुको नाक्चा, दोलखाको लामाबगरलगायतका नाकामा नेपालतर्फ पूर्वाधार विकास भएको छैन । पूर्वाधार अभावकै कारण यी नाकाहरु तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको पाइएको छ ।
२६ भञ्ज्याङ र १ दर्जन वैकल्पिक नाका रहँद रहँदै पनि चीनसँगको आवतजावत भने सहज छैन । गएको जेठमा मात्रै तातोपानी नाका सञ्चालनमा आएको छ । भूकम्पका कारण बन्द रहेको यो नाका झण्डै ४ वर्षपछि सञ्चालनमा ल्याइएको हो
तातोपानी नाकाभन्दा हिल्सा, कोरला, संखुवासभाको किमाथांका र रसुवागढी–केरुङ नाका चीनसँग आवतजावतका लागि बढी सहज रहेको सडक विभाग बताउँछ । त्यसैले पछिल्लो समय चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका बेला पनि चिनियाँ पक्षले रसुवागढी(केरुङ नाका सञ्चालनका लागि बढी प्राथमिकता दियो ।
चीनले काठमाण्डौबाट सहज रुपमा रसुवागढ(–केरुङ नाका पुग्नका लागि सुरुङ मार्ग नै बनाइदिने सहमति गरेको छ ।
जसमध्ये काठमाण्डौ(केरूङ सडकको टोखा(छहरे र बेत्रावती–स्याफ्रुबेसी सुरूङ मार्ग बनाउने सहमति भएको हो । सहमतिसँगै अब सम्भाव्यता अध्ययनको तयारी गरिएको सडक विभागले जनाएको छ ।
टोखा(छहरे ४ किलोमिटर सुरुङ मार्गको अहिले अध्ययन भइरहेको हो । यो सुरुङ मार्गले काठमाण्डौको टोखा र नुवाकोटको छहरेलाई जोड्ने काम गर्छ । अहिले छहरे पुग्नु परे गल्छी पुगेर नुवाकोट प्रवेश गर्दै घुमाउरो बाटो जानु पर्छ ।
सुरुङ मार्ग बनेपछि भने झण्डै २ गुणाले सडक छोटो बन्ने सडक विभागको अध्ययनले देखाएको छ । चार किलोमिटर सुरुङ मार्गको अहिले अध्ययन भइरहे पनि त्यसलाई बढाएर ८ किलोमिटर बनाउने विषयमा अध्ययन अघि बढाउने कि भन्ने विषयमा पनि छलफल भइरहेको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो ।
यस्तै काठमाण्डौ(रसुवागढी(केरुङ मार्गको दोस्रो खण्डमा बन्ने सुरुङ मार्गले बेत्रावती र स्याफ्रुबेसी जोड्ने छ । दोस्रो खण्डको बेत्रावती(स्याफ्रुबेसी सुरूङ मार्ग झण्डै १७ देखि २४ किलोमिटरसम्म लामो हुन सक्ने अध्ययनले देखाएको छ । तर यकिन नै भइसकेको भने छैन ।
प्रारम्भिक अध्ययन भए पनि सम्भाव्यता अध्ययन बल्ल हुने भएकाले यसपछि मात्रै लम्बाइको टुंगो लाग्ने सापकोटाले बताउनुभयो । दुवै सुरुङ निर्माण भएसँगै काठमाण्डौ चीनबीचको दूरी छोटिने छ । अहिलेको तातोपानी नाकाभन्दा सहज रुपमा नै आवतजावत गर्न सकिने र छोटो पनि हुने भएकाले यो सडक चीनको प्राथमिकतामा परेको हो ।
तातोपानी नाकाबाट नेपालतर्फको बाटो साँघुरो रहँदा ढुवानी सहज नभइरहेका बेला सुरुङ मार्ग बनाउँदै बाटो फराकिलो पारेर छोटो र ढुवानी सहज बनाउन यो मार्ग तयार पार्न लागिएको हो ।
चीनले पनि केरुङ नाका जोड्न आफ्नोतर्फ फराकिलो सडक बनाइरहेको छ । कोरला नाका जोड्नसमेत उसले आफ्नो तर्फ २० किलोमिटर सडक बनाइसकेको छ । यसले तातोपानी नाकाभन्दा सहज केरुङ र कोरला नाका नै हुने देखिएको हो ।
यसअघि चिनियाँ पक्षले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाङचुङ्गोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाका खोल्न सकिनेसमेत बताउँदै आएको थियो ।
नेपाल सरकार र चिनियाँ पक्षबीच भएको सहमतिअनुसार अब छिट्टै सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउने गरी विभागले छलफल अघि बढाएको छ ।
पछिल्लो पटकको भ्रमणबाट चिनियाँ पक्ष जतिसक्दो छिटो यो सडकमार्ग बनाउन अग्रसर देखिएकाले छिट्टै काम सकिनेमा विभाग पनि विश्वस्त देखिएको छ ।अहिले यो सडक वर्षा याममा पहिरो लगायत विभिन्न कारणले बेला बेला अवरुद्ध भइरहने गरेको छ ।
सडक राम्रो नहुँदा यो नाका हुँदै हुने आयात निर्यात पनि निकै कम रहेको छ । तर अब यो सुरुङ मार्ग बने पहिरोका कारण अवरुद्ध भइरहने समस्या समाधान हुने छ भने आयात निर्यात पनि बढ्ने छ ।
सुरुङ मार्ग निर्माण सकिएपछि बाह्रै महिना यो सडक सञ्चालनमा आउने भएकाले जतिसक्दो छिटो यो सडक निर्माण गर्ने गरि काम अघि बढाइने प्रवक्ता सापकोटाले बताउनुभयो । उज्यालोअनलाईन