खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



महाभारतकालीन प्रतिमाले सिँगारिँदै अर्जुनधारा


 संवाददाता   October 19, 2019   257 जनाले पढ़िसके




कार्तिक २, २०७६
झापाको अर्जुनधारा नगरपालिकाले पूर्वको पशुपतिनाथको रूपमा चिनिएको अर्जुनधारा जलेश्वरधामलाई थप आकर्षक बनाउन महाभारतकालीन पौराणिक कथाका पात्रहरूसँग मिल्ने प्रतिमा नगरको मुख्य बजार शनिश्चरेमा राख्ने भएको छ ।
यहाँ महाभारतको कथामा आधारित बाह्र वर्ष वनवास बसेका बेला तिर्खाएका गाईको प्यास मेटाउन धनुषधारी अर्जुनले बाण हानी धरतीबाट पानीको मूल फुटाएको भन्ने किम्वदन्ती प्रचलित रहेको पाइन्छ ।
सोही स्थानमा हाल अर्जुनधाराधाम रहेको मानिँदै आएको छ । अर्जुनधारा नगरपालिकाले धामको प्रवेशमार्गसमेत रहेको शनिश्चरे बजारमा महाभारतकालीन कथामा वर्णित पात्रको कलात्मक झलक प्रस्तुत गर्न रु ४६ लाखमा विभिन्न मूर्ति निर्माण गरिरहेको नगरप्रमुख हरि रानाले बताए ।
मूर्ति बनाउन कमल गाउँपालिका–५ का मूर्तिकार भक्तिमान राईलाई ठेक्का दिइएको छ । नगरपालिकाको नामाकरणसमेत अर्जुनधाराधामकै प्रसिद्धीका कारणले भएको हो । नगरप्रमुख रानाले ती मूर्ति सजाएपछि अर्जुनधारा धार्मिकस्थलको महŒव स्थापित हुने र यहाँ तीर्थाटनमा आउने पर्यटकको सङ्ख्या बढ्ने बताए ।
बनाइएको प्रतिमामा भगवान् श्रीकृष्णले हाँकेको रथमा योद्धा मुद्रामा उभिएका गाण्डिव धनुषधारी अर्जुन र तिर्खाएका गाईलाई प्यास मेटाउन धरतीबाट जलधारा निकाल्न बाण हान्दै गरेका अर्जुन ज्यादै कलात्मक र आकर्षक छन् । अर्जुनधाराको शनिश्चरे झापाको पुरानो बजार र साहित्यिक केन्द्र हो ।
आदिवासीले गोरुगाडा हाँक्दै गरेको विशाल मूर्ति शनिश्चरेमा राखिने नगरप्रमुख रानाले बताए । शनिश्चरेमा राख्नका लागि साहित्यकार एवम् शिक्षासेवी महानन्द सापकोटाको पूर्णकदको प्रतिमा, आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतिराम भट्टको अर्धकदको प्रतिमासमेत निर्माण भइसकेको छ ।
तामाको छानो लगाएर प्यागोडा शैलीमा पुनःनिर्माण गरिएको अर्जुनधारा मन्दिर परिसरमा अर्जुनले बाण हानेर निस्किएको पानीले बनेको धार्मिक विश्वास गरिने जलकुण्डसमेत छ । उक्त धार्मिकस्थलको चित्र नेपालको हुलाक टिकटका रूपमा छापिएको छ ।
रासस