रासस
आश्विन १६, २०७६ बिहीबार
डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ ।
महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६÷७७ बाट सुत्केरी महिलाका लागि उक्त सुविधा दिन शुरु गरेको वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहराले बताउनुभयो ।
उक्त वडाले आफ्नो वडाभरिमा स्थायी बसोबास भएका प्रत्येक सुत्केरी महिलालाई एउटा लोकल जातको कुखुरा र एक किलोग्राम घ्यू वितरण गर्ने कार्यको शुरुआत गरेको छ । वडा कार्यालयले सुत्केरी आमालाई कुखुरा र घ्यू वितरण गर्न थालेपछि सो वडाका स्थानीयवासी निकै खुशी भएको सिलगढीका स्थानीयवासी डिलबहादुर सिंहले बताउनुभयो ।
चालू आर्थिक वर्षको साउनयता नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू प्रदान गरिएको सो वडाका वडासदस्य दीपा श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाभरिका स्थानीय सुत्केरी महिलालाई लोकल जातका कुखुरा र अण्डा वितरण गरेको थियो ।