खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



‘वर्षेनी १००० बलात्कार पीडितलाई वयान फेर्न बाध्य पारिन्छ’


 संवाददाता   October 3, 2019   259 जनाले पढ़िसके




२०७६ असोज १६ गते

संसद सचिवालयले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा पदमुक्त भएको सूचना सार्वजनिक गर्नुभन्दा २४ घण्टा पहिला नै पीडित भनिएकी महिलाले महरालाई ‘क्लिन चिट’ दिएको भिडियो सार्वजनिक भयो । जब कि महराले आफूलाई जबरजस्ती करणी गरेको भन्ने ती महिलाको आरोपलाई नै आधार मानेर राजीनामा दिएका थिए ।
सञ्चार माध्यममा सार्वजनिक पहिलो भिडियोमा बलात्कारी भनेकी महिलाले अर्को भिडियोमा भने महरालाई ‘बाउ समान’ को मान्छे भनेकी छन् । अर्थात् जसले बलात्कारको आरोप लगाएकी थिइन्, उनैले पछि आफ्नो वयान फेरिन् ।
पहिला बलात्कारी भनेको व्यक्तिलाई पीडितले नै पछि सफाइ दिएको यो नै पहिलो घटना भने होइन । अधिकारकर्मी डा. रेणु अधिकारी बलात्कारीले सजायँ पाउने निश्चित भएपछि अदालतबाट अन्तिम फैसला हुने बेलासम्म पनि पीडितको वयान प्रभावित गर्ने प्रयत्न हुने गरेको बताउँछिन् ।
‘कम्तिमा एक तिहाई पीडितलाई विभिन्न दबावरप्रलोभन दिएर वयान फेर्न बाध्य पारिन्छ’, डा. अधिकारी भन्छिन्, ‘कति पीडितले वयान फेरे भन्नु भन्दा पनि उसले कुन(कुन कारणले आफ्नो कुरामा टिक्न सकेन भन्ने विषय खोतल्नु जरुरी छ ।’
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा तीन हजार १६ वटा बलात्कारका घटना भए । डा. अधिकारीको भनाइलाई मान्ने हो भने गत आर्थिक वर्षमा मात्रै एक हजारभन्दा बढी पीडित वयान फेर्न बाध्य भएको देखिन्छ ।
यो प्रहरीमा दर्ता भएको घटनाको मात्रै आँकडा हो । महराको नाम जोडिएको जस्तो प्रहरीको जानकारीमा पुगेर पनि उजुरी नै दर्ता नभएका घटनाहरू भने माथिको आँकडामा समावेश छैन ।
पछिल्लो समयमा पीडितले उल्टो वयान (होस्टाइल) दिने घटना बढ्दै गएको जानकारहरू बताउँछन् । पीडक शक्तिशाली भएको मुद्दामा होस्टाइलको सम्भावना झनै बढी हुन्छ । होस्टाइल बढ्नुको अर्थ यस्तो अपराधमा शक्तिशालीहरूको संलग्नता बढ्नु पनि हो ।
होस्टाइल शब्द समान्यतया अदालतमा पुगेको मुद्दामा प्रयोग गरिन्छ । तर, पछिल्लो समयमा अदालतमा नपुग्दै पीडितलाई प्रभावमा पार्ने क्रम पनि बढेको अधिकारकर्मीहरू बताउँछन् ।
‘सभामुखसँग जोडिएको केस भएकाले चर्चामा आएको हो मात्रै हो’ अधिकारकर्मी डा. अधिकारी भन्छिन्, ‘पीडित वयान फेर्न बाध्य पार्ने घट्ना दिनहुँ जस्तो भइरहेको छ ।’
किन फेरिन्छ वयान ?
गत साउन १२ गते भारतको रायबरेलीमा बलात्कार पीडित बालिका, उनकी आफन्त र वकिल सवार कारलाई ट्रकले हान्यो । ट्रकको ठक्करबाट बालिकाकी दुई आफन्तको मृत्यु भयो भने वालिका र उनका वकिल गम्भीर घाइते भए ।
‘उन्नाव रेप’ काण्ड नाम दिइएको यो बलात्कारसम्बन्धी घटनाका अभियुक्त सत्तारुढ भारतीय जनता पार्टीका विधायक कुलदीप सिंह सेंगर पक्राउ परेको १५ महिनापछि पीडित सवार कारलाई ट्रकले हानेको हो । ट्रक चालकले प्रहरीलाई दिएको बयान शंकास्पद रहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
अदालतबाट दोषी ठहर हुने निश्चित भएपछि पीडितलाई मार्न योजनाबद्ध रुपमा नक्कली दुर्घटना गराएको कुलदीपमाथि अर्को अभियोग थपियो ।
अदालत पुगेर अन्तिम फैसलाको तयारीमा पुगिसकेको मुद्दामा पनि पीडित कति असुरक्षित छ भन्ने यो उदाहरणले देखाउँछ । खासगरी सबै प्रमाणबाट दोषी ठहर हुने भएपछि आफूलाई जोगाउन शक्ति र पहुँच हुनेहरूले के सम्म गर्छन् भन्ने रायबरेली ‘दुर्घटना’ ले देखाउँछ ।
अदालतमा पुगिसकेको मुद्दामा नाटकीय परिवर्तन ल्याइएको घटना नेपालमै पनि प्रशस्त छन् । जस्तो २०७४ फागुन २० गते काठमाडौं जिल्ला अदालतले नेपाली सेनाका ३३ वर्षीय सेनानीलाई सफाई दियो । २३ नम्बर बाहिनी, बाग्लुङमा कार्यरत ती सेनानीमाथि काठमाडौं, शंखमूलमा आफन्तको घरमा बसेर पढेरहेकी १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोग थियो ।
पीडितले अदालतमा अभियुक्तलाई चिनेकै छैन भन्ने वयान दिएपछि ती सेनानीले सफाइ पाए । पीडितका तर्फबाट बहस गरेका एक वकिलका अनुसार यो घटनामा प्रलोभन र धम्की दुबै दिइएको थियो ।
अदालतमा हुने ढिलासुस्ती, अभियुक्त र पुरुष अधिकारीका अगाडि वयान दिनुपर्ने बाध्यता, पीडितलाई नै दोषी ठान्ने सोच जस्ता कारणले पनि पीडितहरू हत्तपत्त उजुरी गर्न जाँदैनन् । न्याय माग्न जाँदा पीडितले सम्झनै नपरे हुन्थ्यो भनेको घट्ना पनि पटक पटक बयान गर्नुपर्दछ ।
‘जीवनमा कहिल्यै सम्झनु नपरोस् भनेको घटनाको पटक(पटक हुबहु वयान गर्नुपर्दा पीडित हतोत्साहित हुन्छ भने पीडकले थप बल पाउँछ’, डा. अधिकारी भन्छिन्, ‘बयान फेर्न किन बाध्य पारिन्छ भन्ने बुझेर पीडितलाई न्याय प्रक्रियामा सहभागी गराउने र समाजमा पुनर्स्थापित गर्ने दायित्व राज्यको हो ।’
अनलाइनखबर