खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सांस्कृतिक क्रान्ति, नक्शलवाद र झापा आन्दोलन


 संवाददाता   September 25, 2019   276 जनाले पढ़िसके




राजेन्द्र किराती
आश्विन ८, २०७६
विषय प्रवेश
‘चिनियाँ अध्यक्ष माओ हाम्रो पनि अध्यक्ष हो साथै चिनियाँ बाटो नै हाम्रो पनि बाटो हो ।’ यो नक्शलवादी आन्दोलनको प्रणेता चारु मजुम्दारले पार्टी दस्तावेजमा गम्भीर ढङ्गले उठाएको विषय हो । यो भनाइबाट के स्पष्ट हुन्छ भने, नक्शलवादी आन्दोलनमा चिनियाँ क्रान्तिको प्रभाव निर्णायक थियो । चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति, नक्शलवादी र झापा आन्दोलन लगभग एउटै ऐतिहासिक परिवेशमा भएको थियो । अर्थात् चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभाव नक्शलबारीमा र नक्शलबारी आन्दोलनको प्रभाव नजिकैको झापा आन्दोलनमा अभिव्यक्त भयो । यसकारण झापा आन्दोलनको उत्प्रेरणा भन्नु नै सांस्कृतिक क्रान्ति हुँदै नक्शलवादी आन्दोलन हो । चिनमा समाजवाद निर्माणअन्तर्गत निरन्तर क्रान्तिको ऐतिहासिक प्रक्रियालाई जीवन्त राख्न १९६६ मा सर्वहारा सांस्कृतिक क्रान्तिको उद्घोष गरियो । यो तत्कालीन चिनियाँ कम्युनिष्ट अर्थराजनीतिमा घुसेका सबैखाले गैर–क्रान्तिकारी र गैर–सर्वहारावादी प्रवृत्तिहरूलाई निस्तेज पार्दै समाजवाद निर्माणको राजनैतिक महाअभियान थियो ।
ऐतिहासिक पृष्ठभूमि
सन् १९१७ को महान् अक्टोबर क्रान्तिपछि सोभियत सङ्घ पहिलो समाजवादी मुलुक बन्यो । यसपछि विश्व अर्थराजनीतिमा एकाएक नयाँ तरङ्ग पैदा भयो । विभिन्न कोणहरूबाट समाजवादबारे बहस हुनथाल्यो । संसारैभरि कम्युनिष्ट आन्दोलनको माहौल बन्यो । यसैबीच १९२० मा भारतीय कम्युनिष्ट पार्टीको स्थापना भयो । स्टालीन जीवित रहेसम्म सोभियत समाजवादी आन्दोलन निरन्तर रूपान्तरणको ऐतिहासिक प्रक्रियामा थियो । तर स्टालीनको मृत्युपछि ख्रुश्चेभले ऐतिहासिक द्वन्दात्मक भौतिकवाद, अतिरिक्त मूल्य, सर्वहारा अधिनायकत्व र वर्गसङ्घर्ष जस्ता माक्र्सवादका आधारभूत सिद्धान्तलाई तिलाञ्जली दिए । उनले शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण सङ्क्रमण र शान्तिपूर्ण प्रतिस्पर्धाजस्ता वर्ग र आत्मसमर्पणवादी राजनैतिक कार्य्दिशा अपनाए । १९५६ को बिसौं महाधिवेशनमा उनले ‘राष्ट्रिय प्रजातन्त्र’ जस्ता सुधारवादी कार्यक्रम घोषणा गरे । १९६० मा मास्कोमा कम्युनिष्ट र मजदुर पार्टीको अन्तर्रा्ष्ट्रिय बैठक राखियो । बैठकले ख्रुश्चेभको सम्झौतावादी लाइनलाई अनुमोदन गर्यो । तर, माओले सोभियत संशोधनवादी विचलनको कडा रूपमा प्रतिवाद गर्दै महान् बहसको थालनी गरे ।
त्यसपछि विश्व कम्युनिष्ट आन्दोलन दुई खेमामा विभाजित भयो । यसबाट भारतीय कम्युनिष्ट पार्टी पनि प्रभावित भयो । भाकपाले सोभियत मोडेलअन्तर्गत संसदीय चुनावमा भाग लियो । तर, केरला राज्यमा मात्र जित हात पा¥यो । उसले आफ्नो विधानबाट सशस्त्र सेना पदावली नै हटायो । यही विचारधारात्मक अन्तरविरोधकै कारण १९६४ मा पार्टी फुट्यो । भाकपा सोभियत सुधारवादी लाइनमा लाग्यो भने भाकपा माक्र्सवादीले माओको क्रान्तिकारी लाइन अङ्गीकार ग¥यो । नक्शलवादी आन्दोलन सांस्कृतिक क्रान्तिकै उपज थियो । यद्यपि कम्युनिष्ट पार्टीको नेतृत्वमा मोही किसानहरूले १९४६ मा पश्चिम बङ्गालमा गरेको त्रिभागी आन्दोलन र १९५१ मा तेलङ्गनामा भएको किसान विद्रोहको प्रभाव पनि नक्शलवादी आन्दोलनमा परेको देखिन्छ ।
बाह्य प्रभाव
दोस्रो विश्वयुद्धपछि तेस्रो विश्वका मुलुकहरूमा राष्ट्रिय मुक्ति आन्दोलन विश्व अर्थराजनीतिक सङ्घर्षको मूल चरित्र बन्न पुग्यो । जताततै उपनिवेश विरुद्धको लडाइँ उत्कर्षमा पुग्यो । यही राष्ट्रवादी आन्दोलनको लहरसँगै वर्गीय मुक्ति आन्दोलन पनि उत्कर्षमा पुग्यो । यही सिलसिला अन्तरगत कमरेड माओको नेतृत्वमा १९४९ मा चिनमा जनवादी गणतन्त्र स्थापना भयो । माओले गाउँका शोषित पीडित जनताहरूलाई सङ्गठित गरेर सङ्घर्ष गरी उत्पीडित वर्गीय सत्ता स्थापनापछि व्यापक रूपमा समाजवाद निर्माणका अभियानहरू चलाए । त्यसमा शुद्धीकरण अभियान, महान् अग्रगामी छलाङ र सर्वहारा सांस्कृतिक क्रान्ति मुख्य हुन् । यसको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रूपमा व्यापक प्रभाव प¥यो । जताततै क्रान्तिकारी मुक्ति आन्दोलनको ज्वार पैदा भयो । यसैबीच यता भाकपा माक्र्सवादीको नेता चारु मजुम्दारले १९६७ मा नक्शलबारीमा सशस्त्र किसान आन्दोलनको नेतृत्व गरे, जुन चिनियाँ क्रान्तिबाट प्रभावित थियो ।
त्यसबेला सोभियत सङ्घ सुधारवादमा फसिसकेको थियो । त्यसैले नक्शलवादी आन्दोलनमा उसको प्रभाव थिएन । यसमा चिनियाँ कम्युनिष्ट पार्टीको पूर्ण समर्थन र सहयोग थियो । नक्शलवादी आन्दोलनको सन्दर्भमा चिनियाँहरूले टिप्पणी गर्दै भने, ‘भाकपा क्रान्तिकारी समूहको नेतृत्वमा किसानहरूले ग्रामीण क्रान्तिकारी सशस्त्र सङ्घर्ष प्रारम्भ गरेको छ । यो भारतीय जनताको लागि ऐतिहासिक महŒवको सवाल हो । यो असाध्यै सही कदम हो । चिनियाँ जनता यसको सहर्ष समर्थन र सहयोग गर्दछ । तेलङ्गना विद्रोहबाट ऐतिहासिक पाठ सिक्दै भारतको क्रान्तिकारी कम्युनिष्ट पार्टीले राजनैतिक, विचारधारात्मक तथा सङ्गठनात्मक रूपमा सोभियत सङ्घको सुधारवादी दिशा विरुद्ध आन्दोलन शुरु गरेको छ ।’ यस भनाइबाट के प्रष्ट हुन्छ भने तत्कालीन नक्शलवादी आन्दोलन मूलतः चिनियाँ क्रान्तिबाट प्रभावित थियो ।
नक्शलवादी आन्दोलन
१९६७ मा भाकपा माक्र्सवादीका नेता चारु मजुम्दारको नतृत्वमा पश्चिम बङ्गालको सानो गाउँ नक्शलबारीमा सशस्त्र किसान आन्दोलन प्रारम्भ भयो । यो आन्दोलन माक्र्सवादी सशस्त्र समूहले गरेको थियो । तत्कालीन अवस्थामा चारु मजुम्दार, कानु सन्याल, जङ्गल सन्थाल लगायतका नेताहरूले आन्दोलनको नेतृत्व गरेका थिए । यसलाई उनीहरूले ‘वर्गदुश्मन सफाया’ अभियान भनेर घोषणा गरे । उनीहरूले ठूला भूमिपतिहरूको चरम शोषण, दमन र विभेदमा पिल्सिएका बहुसङ्ख्यक गरिब किसानहरूलाई सङ्गठित गरेर आन्दोलनमा सहभागी गराए । यसको लागि त्यहाँ किसान सभाको समेत आयोजना गिरियो जहाँ हजारौं किसानहरू सामेल भए । तब उनीहरू मुक्ति आन्दोलनमा लागे । सामन्तहरूबाट कब्जा गरेको अन्न र जमिन गरिब किसानहरूलाई बाँडे । यसबाट किसानहरू खुशी भए । यो आन्दोलन विशेष गरेर विहारको मुसहर, उत्तरप्रदेशको लखीमपुर र बङ्गालको दुम्बारा क्षेत्रमा घनीभूत रूपमा विस्तार भयो ।
नक्शलबारीमा सन्थाल, मधेशीया, ओरान, गुण्डा र राजवंशी लगायतका उत्पीडित जातीहरू बसोबास गर्दथे । उनीहरू सबैको पेशा मोही किसान थियो । भूमिपतिको जमिन जोतेर जीविका चलाउनुबाहेक अर्को विकल्प थिएन । त्यसैले उनीहरूमाथि भूमिपतिहरूले चरम शोषण र अन्याय गर्दथे । यही धरातलमा सशस्त्र सङ्घर्ष विना किसान माथिको अन्याय, अत्याचार र विभेदहरूको स्थायी अन्त्य हुँदैन भन्ने भाकपा माक्र्सवादीको निष्कर्ष थियो । त्यही बेला प्रतिक्रियावादी सत्ता विरुद्ध सशस्त्र सङ्घर्ष गर्ने निधो ग¥यो । यो आन्दोलन पूरै दुःखी, गरिब र सिमान्तकृत समुदायहरूकोे हितमा केन्द्रित थियो । यसकारण आम नागरिकहरू भाकपा माक्र्सवादीको विचार सिद्धान्तप्रति आकर्षित हुनथाले । नक्शलबारीबाट शुरु भएको आन्दोलन अन्य राज्यहरूमा पनि फैलियो । विद्रोहीहरूले विभिन्न स्थानमा सशस्त्र कारवाहीहरू सञ्चालन गरे । आन्दोलनमा अन्य क्रान्तिकारी सङ्गठनहरू पनि आबद्ध हुन थाले । यसमा माओवादी कम्युनिष्ट केन्द्र र पिपल वार ग्रुप पनि सामेल भए । जो पछि गएर भाकपा माओवादी बन्यो । बहुसङ्ख्यक नागरिकहरूको सहयोग र साहनुभुति यसैमा रह्यो ।
१९७१ मा नक्शलवादी आन्दोलन उत्कर्षमा पुग्यो । यद्यपि यो कसैको रहर, लहड र सनकको मात्र सवाल थिएन । यसमा तत्कालीन भारतीय सामन्तवादी अर्थराजनीतिको गैरन्यायिक चरित्र जिम्मेवार थियो । किसान, युवा र विद्यार्थी सबै आन्दोलनमा सामेल भए । नक्शलवादी आन्दोलनको मुख्य चारवटा उद्देश्य थिए । यसमा पहिलो सामन्ती राज्यव्यवस्थाको अन्त्य गर्ने र किसान अधिनायकत्व सहितको राज्यसत्ता स्थापना गर्ने भन्ने थियो । दोस्रो स्वेत आतङ्क विरुद्ध लाल आतङ्क फैलाउने थियो । तेस्रो, ग्रामीण जनतालाई आन्दोलनको नेतृृत्व गर्न सक्षम गराउने भन्ने थियोे । चौथो, सर्वसाधरण जनतालाई विद्रोहमा लाग्न उत्प्रेरित गर्नु थियो । अर्थात् समग्रमा यो सामन्ती शोषण र विभेद विरुद्ध लक्षित थियो ।
झापा आन्दोलन
नक्शलवादी आन्दोलनको प्रभाव झापामा पनि प¥यो । तत्कालीन नेकपा फुट, दक्षिणपन्थी अवसरवादी विचलन र अकर्मण्यतामा फसिरहेको थियो । उनीहरू सामाजिक अन्तरविरोधहरू परिपक्व नभएको भन्दै क्रान्तिलाई पछि धकेल्दै आइरहेका थिए । यही वस्तुगत राजनैतिक धरातलमा केन्द्रबाट छुट्टिएको समूह, पूर्व कोशी प्रान्तीय कमिटी मातहतका युवाहरूले २०२८ सालमा झापा आन्दोलनको नेतृत्व गरे । वस्तुतः केही युवाहरूको जोश, जाँगर र आक्रोशमा यो आन्दोलन भएको देखिन्छ । उनीहरूले पूर्व कोशी प्रान्तीय कमिटीसँग सम्बन्ध तोड्दै नक्शलवादीसँग सम्पर्क बढाए । झापा आन्दोलनमा पनि नक्शलवादीहरूको जस्तै ‘वर्गदुश्मन सफाया’ कै नीति अपनाइएको थियो । अर्थात् यो विद्रोह नक्शलवादी आन्दोलनकै नेपाली संस्करण थियो भन्दा पनि दुईमत हुँदैन । त्यतिखेर विश्वव्यापी रूपमै सशस्त्र सङ्घर्षको लहर चलेको थियो । कम्युनिष्ट पार्टीको लागि शान्तिपूर्ण आन्दोलनलाई सही मानिदैनथ्यो । नक्शलवादी र झापाली आन्दोलन यसैको उपज थियो ।
मूलतः नक्शलवादी विद्रोह र झापा आन्दोलनको विचारधारात्मक र सैद्धान्तिक पक्ष समानान्तर देखिन्छ ।
नक्शलवादीले जस्तै झापालीहरूले पनि ‘वर्गदुश्मन खतम’ अभियान चलाए । झापालीहरूले ‘एक क्षेत्र एक युनिट र एक स्क्वाएड एक एक्शन’ को नीतिअन्तर्गत सामन्तहरूलाई कारवाही गरे । यद्यपि नक्शलवादीहरूले ठूलो सङ्ख्यामा किसानहरूलाई सहभागी गराएकाथिए । एउटै स्क्वाएडमा ८ सयसम्म किसानहरू सङ्गठित थिए । यता झापामा भने केही युवा कार्यकर्ताहरूले भूमिगत गतिविधिहरू गरे । नक्शलवादी र झापा आन्दोलनको धेरै पक्षहरू मिल्दाजुल्दा देखिन्छन् भने कतिपय भिन्न पनि छन् । दुवै आन्दोलनको प्रभाव अन्य भूभागमा पनि फैलियो । त्यस बेला भारतमा संसदीय पद्धति थियो भने नेपालमा निरङ्कुश राजतन्त्र थियो । भारतमा आन्दोलन छिन्नभिन्न भयो भने नेपालमा अझ एकीकृत हुँदै गयो । भारतमा अभैm पनि सानो स्केलमा नै भए पनि आन्दोलन जारी छ तर नेपालमा झापा आन्दोलन इतिहास भइसकेको छ । यद्यपि दुवै आन्दोलनले वाम भाष्यलाई जोगाएको देखिन्छ ।
कमजोर पक्ष
नक्शलवादी र झापा आन्दोलनको थुप्रै कमजोर पक्षहरू रहेका छन् । सिद्धान्ततः यो उग्रवामपन्थी भड्काव नै हो । यसमा लामो ऐतिहासिक प्रक्रिया, सङ्गठित र योजनाबद्ध नभएर केवल वाम लफ्फाजी र मनोगत भावनाले घर गरेको देखिन्छ । अफ्नो वस्तुगत अन्तरविरोध अनुरूपको कार्यनीति र रणनीति विन्याश नगरी कसैको अन्धनक्कल मात्र गरेर क्रान्ति सम्भव थिएन । विचार, राजनीति, सङ्गठन, योजना र उद्देश्यको तादाम्यता मिलेको थिएन । यो स्थानीय रूपमा केही विचार, भावना र उद्देश्य मिल्ने निश्चित कार्यकर्ताहरूको भावनात्मक आक्रोश जस्तो मात्र देखिन्छ । तर, क्रान्ति एकदुई जना वीरहरूले मात्रै गर्ने सवाल होइन । यो वर्गीय रूपमा सचेत जनताको पहल, प्रयत्न र बलीदानीको विषय हो । क्रान्ति कसैको मनोगत भावना र बनीबनाउ चाहनामात्र होइन । यता १९७१ सम्म आउँदा नक्शलवादी आन्दोलनले एउटा उचाइ ग्रहण गरिसकेको थियो । तर, गलत नीति र सरकारी दमनको कारण गम्भीर सङ्कटको अवस्था सृजना भयो । यसै वर्ष नक्शलवादी नेता चारु मजुम्दार गिरफ्तारीमा परे । उनलाई कलकत्ताको जेलमै हत्या गरियो । जहाँ अन्य वरिष्ठ नेताहरू पनि मारिए । पार्टी्भित्र आन्तरिक दुईलाइन सङ्घर्ष राम्रोसँग सञ्चालन गरिएन । तब भाकपा टुक्रा टुक्रा भयो । यता झापा आन्दोलनमा पनि सरकारले व्यापक दमन र धरपकड गर्यो । कैंयौंलाई गिरफ्तार र निर्वा्सित गरियो । यो आन्दोलन ३० महिनापछि पूर्ण रूपमा विसर्जन भयो ।
निष्कर्ष
तत्कालीन विश्व अर्थराजनीतिमा क्रान्तिकारी आन्दोलन अनिवार्य जस्तै थियो । किनकी सामन्तवादी र पुँजीवादी शोषण, उत्पीडन र विभेद कहाली लाग्दो थियो । भूमिपति, साहुमहाजन र पुँजीपतिहरूको समग्र उत्पादनका साधनहरूमा एकाधिकार थियो । किसान, मजदुर, दुःखी, गरिब अनि श्रमजीवी जनताको अवस्था नाजुक थियो । यस्तो वस्तुगत अर्थराजनीतिक धरातलमा क्रान्ति रहर र झोंकको विषय नभएर इतिहासको अपरिहार्य आवश्यकता थियोे । तत्कालीन सोभियत सङ्घ र चिनमा यही ऐतिहासिक आवश्यकता पूरा गर्ने सिलसिलामा क्रान्ति भयो । त्यसपछि विश्वको विभिन्न मुलुकहरूमा क्रान्तिकारी उभार आयो । नक्शलबारी र झापा आन्दोलन पनि यसैको उपज थियो, जुन तत्कालीन ऐतिहासिक वस्तुगत आवश्यकता थियो ।
खास समाजको अन्तरविरोध, त्यसले सृजना गरेको वस्तुगत र आत्मगत अवस्था अनुरूप निर्धारण गरिएको कार्य्दिशाले मात्र क्रान्ति गर्ने हैसियत राख्दछ । नक्शलवादी र झापा आन्दोलनमा शासकवर्ग र समाजको चरित्रअनुसारको राजनीतिक कार्य्दिशा तय गरिएन । यो चिनियाँ सांस्कृतिक क्रान्तिको हुबहु नक्कल मात्रै थियो । किनकी समाज र समय सापेक्ष विकास गरिएको कार्यनीति र रणनीतिको लामा लामा श्रृङ्खलाहरूको अभ्यासले मात्र क्रान्तिलाई सफल बनाउँछ । तर नक्शलवादी र झापा आन्दोलन केवल सांस्कृतिक क्रान्तिको तरङ्गमा पैदा भएको उग्रवामपन्थी भड्काव मात्र सिद्ध भयो । छोटै अवधिमा आन्दोलन विसर्जन हुनपुग्यो, जुन दुःखद कुरा हो । त्यसैले समाजको अन्तरविरोध सापेक्ष कार्य्दिशाद्वारा निर्दे्शित, सङ्गठित, सचेत एवं योजनाबद्ध पहल विना गरिएको क्रान्तिको कुनै भर हुँदैन । तसर्थ कम्युनिष्ट अभियान्ताहरुले विगतको गलत नजीरबाट गम्भीर पाठ सिक्नु जरुरी देखिन्छ ।