खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



राष्ट्र बैंकले तोक्यो नयाँ नोट साट्ने स्थान, सहकारी संस्थाले नपाउने


 संवाददाता   September 23, 2019   734 जनाले पढ़िसके




२०७६ असोज ६ गते
नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर नयाँ नोट सटहीको व्यवस्था मिलाएको बैंकले उपत्यका बाहिर भने आफ्ना कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराएको छ
थापाथली कार्यालयबाट नयाँ नोट नपाइने
राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । तर, यसपटक राष्ट्र बैंकले रकम वितरण गर्ने सूचीमा थापाथली कार्यालय छैन । थापाथलीस्थित कार्यालयको भवन पुनर्निर्माणको काम जारी रहेकाले यस वर्ष थापाथलीबाट नयाँ नोट नबाँड्ने राष्ट्र बैंकले जनाएको छ ।
उसले मुद्रा व्यवस्थापन विभाग, बालुवाटारबाट नयाँ नोट वितरणको चाजोपाजो मिलाइएको जनाएको छ ।
काठमाडौं उपत्यकाका यी स्थानबाट पाइन्छ नयाँ नोट
उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट उपलब्ध गराउने छन् ।
राष्ट्र बैंकका अनुसार, कृषि विकास बैंकले काठमाडौं उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट बाँड्दै छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ ।
राष्ट्र बैंकले यसका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँदै छ । राष्ट्र बैंकका अनुसार, आफ्ना खाता भएका वित्तीय संस्थाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्नेछन् ।
उपत्यका बाहिर कहाँ(कहाँबाट पाइन्छ ?
राष्ट्र बैंकले काठमाडौं उपत्यकासँगै अन्य जिल्लामा पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । यद्यपि, उपत्यकाको तुलनामा बाहिर निकै कम स्थानबाट रकम सटही गर्ने सुविधा छ ।
राष्ट्र बैंकका अनुसार, उसका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुनेछ ।
उपत्यकाभित्र अन्य बैंकमार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैंकले उपत्यकाबाहिर भने अन्य बैंकबाट नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छैन ।
सहकारी संस्थाले सहकारी बैंकबाट लिनुपर्ने
अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले सहकारी संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँथ्यो । कार्यालयको चिठी लगेर सहकारी संस्थाहरुले नयाँ नोट साट्थे र आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँथे ।
तर, यसपटक सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले सीधै नयाँ नोट वितरण नगर्ने प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । निरौलाका अनुसार राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई नयाँ नोट दिनेछ र सहकारी संस्थाहरुले राष्ट्रिय सहकारी बैंकमा गएर नयाँ नोट लिन पाउने छन् ।
धेरै भिडभाड भएको र झन्झटिलो भएकाले यस वर्ष सीधै सहकारी संस्थाहरुलाई रकम वितरण नगरिने निरौलाले बताए ।
अनलाइनखबर