०६, असोज २०७६
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अख्तियारका पूर्वप्रमुख आयुक्तदेखि चर्चित गायिकासम्मको सम्पत्ति छानबिन गरिरहेको छ ।
विभागले अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत र पूर्वआयुक्त राजनारायण पाठकसँग अकुत सम्पत्ति भएको उजुरीका आधारमा उनीहरुमाथि छानबिन थालेको हो । यद्यपि, हालसम्मको अनुसन्धानमा बस्नेतको नाममा मात्र धेरै सम्पत्ति नदेखिएको स्रोतले जनाएको छ ।
त्यस्तै, अख्तियारको आयुक्त हुँदा ७८ लाख घुस प्रकरणमा मुछिएका पाठकमाथि अख्तियारले मुद्दा समेत चलाइसकेको छ । नेपाल इन्जिनियरिङ क्याम्पसको विवादमा लम्बोदर न्यौपानेको पक्षमा निर्णय गराइदिने भन्दै उनले घुस लिएका थिए । सोही प्रकरणमा पक्राउ परेका उनी ७८ लाख धरौटी बुझाएर छुटेका छन् ।
निजी मेडिकल कलेजका सबै सञ्चालक पनि विभागको छानबिनमा छन् । कलेज सञ्चालकमाथि विद्यार्थीसँग अवैध ढंगले अतिरिक्त लाखौँ रुपैयाँ उठाएको आरोप छ । त्यसबाहेक पनि उनीहरूले अस्वाभाविक रूपमा सम्पत्ति जोडेको उजुरी विभागमा परेको छ । विभागले उनीहरू सबैको सम्पत्तिको स्रोत खोजिरहेको छ ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मा र झापामा मेडिकल कलेज सञ्चालनको तयारीमा रहेका बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले अस्वाभाविक सम्पत्ति आर्जन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोतले जनाएको छ ।
नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी र अध्यक्ष जैनुद्दिन अन्सारीको सम्पत्तिमाथि पनि छानबिन भइरहेको छ । उनीहरूको लगानीको स्रोत नै शंकास्पद रहेको भन्दै विभागमा उजुरी परेको थियो ।
त्यसैगरि विभागले गायिका आनी छोइङ डोल्माको बैंक खातामा रहेको १९ करोड रुपैयाँमाथि छानबिन गरिरहेको छ । उनको मेगा बैंकमा रहेको खाता नम्बर ००१००५००३९४२४ मा गत २६, २७ र २८ वैशाखमा हङकङबाट डलर आएको थियो । २६ गते पाँच लाख ७९ हजार नौ सय ८०, २७ गते पाँच लाख ३९ हजार नौ सय ८० र २८ गते पाँच लाख २९ हजार नौ सय ८० अमेरिकन डलर आएको थियो । सो रकम शंकास्पद भएको भन्दै खाता रोक्का राखेर अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो ।
गायिका डोल्माले विभिन्न सामाजिक कामका लागि आफूलाई विदेशबाट डलर प्राप्त भएको बताए पनि स्रोत खुलाउन सकेकी छैनन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगै जोडिएको दुई सय ९९ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बिक्री गर्ने समूहलाई पनि प्राथमिकतामा राखेर विभागले छानबिन गरिरहेको छ ।
बिचौलिया शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनीहरू निकट व्यापारीहरूको सम्पत्ति विवरण विभागले संकलन गरिरहेको छ । यो प्रकरणमा अख्तियार र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान गरिरहेको छ ।
भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकमाथिको अनुसन्धानलाई पनि विभागले अन्तिम चरणमा पुर्याएको छ । सामुदायिक कलेजमा अनियमितता गरेर सञ्चालकहरूले अवैध सम्पत्ति थुपारेको अनुसन्धानमा देखिएको छ ।
विभागले अनुसन्धानका लागि कलेजबाट एक ट्रक कागजपत्र गत महिना बरामद गरेको थियो । कलेजका अध्यक्ष लम्बोधर न्यौपानेसहितका सञ्चालकविरुद्ध दसैँअगाडि नै मुद्दा दायर हुने सम्भावना रहेको विभाग स्रोत बताउँछ । सामुदायिक कलेजलाई कम्पनीमा लगेर सरकारी जग्गा बिक्रीको प्रयास न्यौपाने समूहले गरेको थियो ।
त्यसैगरि ३८ सय केजी सुन तस्करीका अभियुक्तमाथिको अनुसन्धानलाई पनि विभागले प्राथमिकतामा राखेको छ । गिरोहका नाइके चूडामणि उप्रेती ‘गोरे’, भारतीय नागरिक मोहन अग्रवाल, विमल पोद्दार, आरबी डायमन्डका मालिक राजेन्द्र शाक्य, भुजुङ गुरुङ, राजु दारुका, ठाकुर ढुंगानालगायतमाथि विभागले अनुसन्धान गरिहेको छ ।
बैंक र सहकारी संस्थाहरूको सहयोगमा सम्पत्ति लुकाउने तथा शुद्धीकरण गर्ने प्रवृत्ति देखिएपछि विभागले बैंक र सहकारीकै कारोबारमा निगरानी बढाएको छ । बैंकहरूकै सहयोगमा सम्पत्ति शुद्धीकरण भइरहेको हालैको एक अनुसन्धानमा खुलेको थियो ।
सहकारी क्षेत्रमा पनि धेरै कालो धन रहेको आशंकामा छानबिन थालिएको छ । सम्पत्ति शुद्धीकरणमा सहकारी जोखिमयुक्त क्षेत्र भएकाले निगरानी बढाइएको सहकारी विभागका महानिर्देशक डा.टोकराज पाण्डे बताउँछन् ।
विभागले अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)लाई पनि छानबिनको प्राथमिकतामा राखेको छ । आइएनजिओमा ठूलो रकम अनियमितता हुने गरेको पनि विभागले जनाएको छ ।
न्युजलय