खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



ज्येष्ठहरुद्वारा नगरपालिकामा ज्ञापनपत्र


 संवाददाता   September 22, 2019   363 जनाले पढ़िसके




पथरी शनिश्चरे, ५ असोज
भुपेन्द« तिम्सीना
मोरङको पथरी शनिश्चरेस्थित ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रले ज्येष्ठहरुको हकहितमा विशेष ध्यान पुर्याउन माग गर्दै आज नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहाल, सचिव रमेश दहाल र कोषाध्यक्ष लालबहादुर कार्कीले हस्ताक्षर गरेको ज्ञापनपत्र नगर प्रमुख दिलिपकुमार राईलाई बुझाउँदै ज्येष्ठ नागरिकको पक्षमा संवेदनशील वन्न माग गरिएको छ ।
ज्ञापनपत्रमा, जेष्ठ नागरिकको हेरचाह केन्द्र, सेवा केन्द्र तथा दिवा केन्द्रको स्थापना एवम् निरीक्षणको व्यवस्था, जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह र हकवालाको निश्चित परिभाषा एवं व्यवस्था, जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह सम्बन्धी ऐन व्यवस्थाको माग गरिएको छ ।
त्यसैगरी, जेष्ठ नागरिकका अधिकारहरू, उनीहरुमाथि अन्याय भएमा त्यसको कानुनी उपचारको व्यवस्था र जेष्ठ नागरिकको पालनपोषणको दायित्व, दायित्व पुरा नभएमा उजूरीको व्यवस्था एवं कारबाहीको व्यवस्था, कानुन बमोजिम हुनसक्ने छुट र सुविधा माग अघि सारिएको छ ।
जेष्ठ नागरिक कल्याण कोषको स्थापना, जेष्ठ नागरिकको आश्रम स्थल र हेरचाह केन्द्रको मापदण्ड एवं सुविधा, जेष्ठ नागरिकलाई सवारी साधन र अन्य सेवामा छुट सुविधा तथा २०७० को कानुनी व्यवस्था, जेष्ठ नागरिकको सेवा सम्बन्धी अनुगमन समिति र काम कर्तव्य र अधिकारको व्यवस्थाको माग उठाइएको छ ।
ज्ञापनपत्रमा, जेष्ठ नागरिकको स्वास्थ्य उपचारको लागि प्रत्येक आर्थिक वर्षमा हुने सुविधा, ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई गंगालाल अस्पतालमा मुटु सम्बन्धी रोगको उपचारका लागि गरिबीको सिफारिशका आधारमा १ लाख रुपैयाँसम्म छुटको व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ ।
जेष्ठ नागरिकको सम्मान र सभ्यताको पहिचानका लागि जेष्ठ नागरिक कानुनी शिक्षा सचेतना पुस्तिका २०७५ को समाज कल्याण परिषद् अन्तर्गत राष्ट्रिय जेष्ठ नागरिक कोषबाट निःशुल्क पुस्तिकाको प्रकाशन एवं निःशुल्क वितरणलाई शीघ्र कार्यान्वयनमा ल्याउन माग गरिएको छ । यसका साथै जेष्ठ नागरिकमाथि हुने विभेदजन्य अभिव्यक्ति, पारिवारिक दुव्र्यवहार, हिंसाचक्र, आय–आर्जन वा धनसम्पत्तिको विषयलाई लिएर जेष्ठ नागरिकमाथि गरिने नराम्रा व्यवहार, आपसी विश्वासमा कटुता र निर्भरताको अन्त्यको अवस्थाको कुरामा जोड दिइएको छ ।