खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पशु स्वास्थ्यमा औषधि अभाव


 संवाददाता   September 22, 2019   729 जनाले पढ़िसके




आश्विन ५, २०७६
तेह्रथुम, धनकुटा र संखुवासभाका किसानले सेवा लिने वसन्तपुरमा रहेको पशु सेवा केन्द्रमा औषधि नहुँदा पशुपालक किसान समस्यामा परेका छन् । केन्द्रमा जुम्राको औषधि समेत छैन । हाल लालीगुराँस नगरपालिका अन्तर्गत रहेको पशु सेवा शाखामा गत साउनयता पशु वस्तुका लागि कुनै पनि प्रकारको सामान्य औषधि छैन ।
नगरपालिकाले शाखामा भएका प्राविधिक कर्मचारीलाई उपेक्षा गरी कुनै कार्यक्रम नै नदिएको कर्मचारीको गुनासो छ । केन्द्रबाट प्राप्त बजेट समेत नगरपालिकाले स्वीकृत नगरिदिँदा गत दुई महिनादेखि केन्द्रमा कुनै पनि औषधि किन्न नपाएको पशु स्वास्थ्य प्राविधिक देवनारायण श्रेष्ठले बताए ।
नगरपालिकाले कार्यक्रम सहितको बजेट समयमा स्वीकृत नगरिदिँदा पशुवस्तुमा लाग्ने आन्तरिक तथा बाह्य परजीवी नियन्यत्रणका कुनै पनि औषधि खरिद गर्न नपाएको केन्द्रका कर्मचारीको भनाइ छ । संघीयता कार्यान्वयनमा आउनुअघि किसानलाई निस्शुल्क वितरण गरिँदै आएका जुम्रा, उपियाँ, नाम्ले, जुका लगायतका कुनै पनि औषधि गत साउनयता शाखामा छैन ।
शाखाले किसानलाई निस्शुल्क वितरण गर्दै आएको घाउ खटिरा, चोट पटक लाग्दा सिलाउने धागो, लट्ठ्याउने सुई, दुखाइ कम गर्ने औषधि, ज्वरो, निमोनिया, झाडापखालाको औषधि छैन । गाई, भैंसी तथा भेडा बाख्रा ब्याउन नसकेमा लगाईदिने सुई समेत शाखामा नहुँदा किसानले स्थानीय सरकार माताहत रहेको पशु सेवा शाखाबाट कुनै पनि सेवा सुविधा पाउन नसकेका हुन् ।
केन्द्रमा रहेका दुई जना कर्मचारीले पशुबस्तुको उपचार गर्दा नभइनहुने सामान्य मेसिनरी औजार तथा उपकरण समेत नभएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक श्रेष्ठले बताए ।